शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा पक्राउ परेका व्यवसायी अमित श्रेष्ठसँग जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ४८ करोड ४ लाख ७२ हजार बिगो मागदाबी लिएको छ । मोबाइल र ल्यापटपको फोरेन्सिक जाँच रिपोर्ट अनुसार उनले राष्ट्र बैंकको अनुमति बिना विदेशी मुद्राको कारोबार गरेको देखिएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले पानीपोखरी बस्दै आएका ४१ वर्षीय श्रेष्ठलाई असार २९ मा पक्राउ गरेको थियो । डिजिटल फोरेन्सिक ल्याबमा उनको ल्यापटप र मोबाइल परीक्षण गर्दा ३३ करोड ९ लाख २१ हजार मूल्य बराबरको विदेशी मुद्रा कारोबार गरेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

श्रेष्ठले राष्ट्र बैङ्क ऐन-२०५८ को दफा ९५ को १ र २ अनुसार कसुर गरेको देखिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख गंगा पौडेलले जानकारी दिए। श्रेष्ठले शङ्कास्पद रूपमा ४८ करोड आर्जन गरेको देखिएको भन्दै सरकारी वकिल कार्यालयले सो रकम बिगो कायम गरेर सजाय हुन मागदाबी लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले श्रेष्ठलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन-२०७३ को कसुरमा मुद्दा दर्ता गर्न सिफारिस सहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएको थियो। तर, सरकारी वकिल कार्यालयले राष्ट्र बैङ्क ऐन अनुसार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

जिल्ला अदालत काठमाडौंमा सो मुद्दाबारे थुनछेक बहस भइरहेको छ। सोमबार बयान सकिएको थियो । मंगलबार उनलाई धरौटीमा छाड्ने वा थुनामा पठाउने बारे आदेश हुन्छ । प्रहरीले क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा उनलाई पक्राउ गरेको थियो । श्रेष्ठले क्रिप्टोकरेन्सीको कारोबार गरेको नदेखिएको र राष्ट्र बैंकको अनुमति बिना विदेशी बैंकमा डलर कारोबार गरेको पुष्टि भएको सरकारी वकिल कार्यालयका प्रमुख पौडेलले जानकारी दिए ।

अस्ट्रेलियाको कमन वेल्थ बैंक, रोयल बैंक अफ क्यानडा र नेपालको नबिल बैंकमा उनले डलर कारोबार गरेको फोरेन्सिक परीक्षणबाट देखिएको छ । अमेरिकन डलर मात्रै उनले ३३ करोडभन्दा बढीको कारोबार गरेका छन् । राष्ट्र बैंकको अनुमति बिना विदेशी विनिमय सम्बन्धी कारोबार गर्न नपाउने कानुनी व्यवस्था छ । विदेशी बैंकमा उनले ३ करोड ३६ लाख ३१ हजार बराबर नेपाली मुद्राको कारोबार गरेका छन् ।

तपाईको प्रतिक्रिया