शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

टोकियो – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान पुगेका छन् । उनी केही बेरअघि टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् ।

उनलाई जापानका लागि नवनियुक्त नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी विमानस्थलमै स्वागत गरेका थिए । साथै  भ्रमण टोलीलाई मञ्चका अध्यक्ष भवानी पन्तसहित एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष रोविन्द श्रेष्ठ, भूषण घिमिरे, एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नवीन निउरे, मञ्चका पदाधिकारीहरू, मञ्चका केन्द्रीय समितिका सदस्य, विभिन्न नेपाली सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, सर्वसाधारण नेपालीहरू रहेका थिए ।

पाँचदिने भ्रमणका लागि सचिवालय टोलीसहित प्रचण्ड राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमानबाट शुक्रबार राति जापान प्रस्थान गरेका थिए ।नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान पुगेका उनीसँगै स्वकीय सचिव रमेश मल्ल, छोरी गंगा दाहाल, सूर्य किरण रहेका छन् । अध्यक्ष प्रचण्डले आज फुकुओकामा आयोजना हुने नेपाल फेस्टिभलको समुद्घाटन गर्नेछन् ।

अगस्ट ६ मा हिरोसिमा घटना भएको ७५ वर्ष पूरा हुन्छ । अगस्ट ७ आइतबार अध्यक्ष प्रचण्डले हिरोसिमा भ्रमण गर्ने भ्रमण तालिका रहेको उनका सचिवालयले जनाएको छ । त्यस्तै आइतबार नै नेपाली जनप्रगतिशील मञ्च जापानको आयोजनामा टोकियोमा हुने नेपाली समुदायहरुबीच ‘समृद्ध नेपालको आधार : आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक खुला अन्तरक्रियामा प्रमुख अतिथिको रुपमा सहभागी बन्नेछन् ।दाहाल जापानमा रहँदा जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग पनि भेटवार्ताको कार्यक्रम छ । दाहाल साउन २५ गते स्वदेश फर्किने छन् ।

प्रचण्डको जापान भ्रमणले नेपाल जापान सम्बन्धलाई थप मजबुत बनाउन मद्दत गर्नेछ भने नेपालको आर्थिक विकास र समृद्धिको बाटोमा जापान सरकार र जापानमा रहेका प्रवासी नेपालीबिचमा विश्वास र सहकार्यमा बढोत्तरी हुनेमा प्रचण्डले विश्वास लिएका छन् ।

तपाईको प्रतिक्रिया