बिहिबार, भाद्र ०२, २०७९
Thursday, August 18, 2022

काठमाडौं –  सरकारले एमाले अध्यक्ष केपी ओलीको गुप्तचरी गरेको र फोन ट्यापिङ गरेको समाचार निराधार भएको स्पष्ट पारेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले केही सञ्चारमाध्यममा केपी ओलीको गुप्तचरी गर्न गुप्तचर परिचालन गरेको र नागरिकको फोन ट्यापिङ गरी गोपनीयताप्रति हस्तक्षेप गरेको भन्ने समाचार निराधार भएको बताएका छन् ।

उनले यस्तो भ्रममा कोही पनि नपर्न अनुरोध गरेका छन् । साथै प्रवक्ता कार्कीले सरकार व्यक्तिको स्वतन्त्रता र गोपनीयताको अधिकारप्रति सचेत रहेको र यसको सम्मान तथा संवर्द्धन गर्न प्रतिबद्ध रहेको पनि बताए । त्यस्तै मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता कार्कीले राजपत्राङ्कित विशिष्ट श्रेणीका (सचिव) यादवप्रसाद कोइरालासहित ६ जना अधिकृतको पनि सरुवा गर्ने निर्णय गरेको जानकारी दिए ।

बैठकले मध्य भोटेकोसी प्रसारण लाइन आयोजना प्रभावित क्षेत्रको क्षतिपूर्ति निर्धारण गर्ने समिति गठन गर्ने । निक्षेप सुरक्षणको सीमा तीन लाखबाट वृद्धि गरी पाँच लाख पुराउने निर्णय गरेको छ भने जापान सरकारका प्राप्त हुने करिब १४ अर्ब ६९ करोड सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन गर्ने निर्णय पनि गरिएको प्रवक्ता कार्कीले बताए ।

त्यस्तै मन्त्रिपरिषद्ले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन मङ्सिर ४ गते गर्ने, मन्त्रिपरिषद्को सहसचिव दीपक काफ्लेलाई सचिवमा बढुवा गर्ने र लेखा परीक्षण सेवाकी सहसचिव विन्दु विष्टलाई पनि सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया