बिहिबार, भाद्र ०२, २०७९
Thursday, August 18, 2022

टोकियो – जापानका लागि नवनियुक्त नेपाली राजदूत डा दुर्गा बहादुर सुवेदीले ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । उनले परराष्ट्र मामिला उपमन्त्री एच. ई. ताक्यो मोरीसमक्ष शुक्रबार ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।

ओहोदाको प्रमाणपत्र पेस गर्दै राजदूत सुवेदीले उपमन्त्रीसँग शिष्टाचार भेटवार्ता गरेका थिए । भेटका अवसरमा दुई देशबीचको घनिष्ठ राजनैतिक, कूटनैतिक, आर्थिक र सांस्कृतिक सम्बन्धको चर्चा गर्दै आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्ने विषयमा कुराकानी भएको टोकियोस्थित नेपाली राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राजदूत डा. सुवेदीले जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको दुःखद निधनप्रति नेपाल सरकार र नेपाली जनताको तर्फबाट समवेदना व्यक्त गरे । उपमन्त्री एच. ई. ताक्यो मोरीले जापानका पूर्व प्रधानमन्त्री सिन्जो आवेको निधनप्रति दुःख व्यक्त गर्दै नेपाल सरकारले एक दिन राष्ट्रिय शोक मनाएकोप्रति कृतज्ञता व्यक्त गरेका थिए । साथै उनले नेपाल र जापानबीच शदियाँदेखि मित्रता कायम रहेको धारणा राख्दै जापानीहरूका लागि नेपाल एक महत्त्वपूर्ण पर्यटकीय र सांस्कृतिक गन्तव्य रहेको बताए ।उपमन्त्रीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्रको प्रतिलिपि बुझाउनुअघि राजदूत सुवेदीले शिष्टाचार महापाल एच. ई. शिनो मित्शुकोसँग उनकै कार्यकक्षमा शिष्टाचार भेट गरेका थिए ।

तपाईको प्रतिक्रिया