बिहिबार, भाद्र ०२, २०७९
Thursday, August 18, 2022

टोकियो – गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानका उपाध्यक्ष संगीता अधिकारी सुवेदीले फुकुओकामा आयोजित नेपाल फेस्टिभल सफल बनाउनतर्फ लाग्न आग्रह गरेकी छन् । फेस्टिभलबारे भइरहेको टिका टिप्पणीबारे ध्यानाकर्षण भएको जनाउँदै उनले फेस्टिभल सफल बनाउनतर्फ लाग्न आग्रह गरेकी हुन् ।

भोलि फुकुओकामा हुने १०औँ नेपाल फेस्टिभलको नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने तय भएपछि पक्ष/विपक्षमा बहस भइरहेको छ । यसै सन्दर्भमा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उपाध्यक्ष अधिकारीले वादविवाद र नकारात्मक टिप्पणी नगरी कार्यक्रम सफल बनाउन सहयोग गर्न आग्रह गरेकी हुन् ।

व्यक्ति जुनसुकै भएपनि फेस्टिभल कुनै राजनीतिक पार्टीको नभएर सिङ्गो नेपाल र नेपालीको भएको उनको धारणा छ । ‘टोकियोमा भएको १२औँ नेपाल फेस्टिभलमा पहिलो पटक राष्ट्रिय सभाका अध्यक्षको प्रमुख आतिथ्यतामा सम्पन्न भयो भने, अब भोलि फुकुओकामा हुने फेस्टिभल पूर्व प्रधानमन्त्रीको हातबाट उद्घाटन हुँदैछ,’ उनले भनेकी छन्, ‘वादविवाद, नकारात्मक टिप्पणी नगरी कार्यक्रम सफल बनाउन सहयोग गरौँ, व्यक्ति जुन पार्टीको नेता भएपनि यो फेस्तिवल चाहिँ कुनै राजनीतिक पार्टीको नभएर सिङ्गो नेपाल र नेपालीको हो । पूर्व प्रधानमन्त्री यो कार्यक्रममा पाउनु भनेको जापानवासी नेपालीहरूको लागि महत्त्वपूर्ण अवसर हो ।’

विदेशमा हुने नेपाल फेस्टिभल ऐतिहासिक बनाउन सरकारको महत्त्वपूर्ण भूमिका हुनुपर्नेमा उपाध्यक्ष अधिकारीको जोड् छ । ‘विदेशमा हुने नेपाल फेस्टिभल साँच्चिकै ऐतिहासिक बनाउनको निम्ति नेपाल सरकारको महतपूर्ण भूमिका हुनु .पर्छ तर, आजको दिनसम्म राजदूतावास, नेपाल एअरलाईनसको साथ सपोर्ट भएपनि नेपाल सरकारको त्यत्ति सहयोग रहेको देखिएको छैन,’ उनले अगाडि भनेकी छन्, ‘सहभागिता सँगसँगै आर्थिक सहयोग रहेमा अझ अर्थ राख्छ ।’अघिल्लो शनिबार र आइतार १२ औँ नेपाल फेस्टिभल सम्पन्न भएको थियो । जहाँ नेपाल र जापानका अधिकारीहरूले नेपाल-जापान सम्बन्धको चर्चा गरेका थिए । नेपाली दूतावास र एनआरएनए को संयुक्त आयोजनामा सम्पन्न फेस्टिभलको १ लाख बढीले अवलोकन गरेका थिए ।

तपाईको प्रतिक्रिया