शनिबार, जेठ २०, २०८०
Saturday, June 3, 2023

टोकियो – राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले जापान जस्तो नेपालको महत्वपूर्ण मित्रराष्ट्रमा आफ्नै दूतावास भवन नहुनु विडम्वनापूर्ण रहेको बताउनुभएको छ । त्यसका लागि उहाँले आफ्नो तर्फबाट नेपाल सरकारको ध्यानाकर्षण गराउनुका साथै सक्दो पहल गर्ने प्रतिबद्धता पनि ब्यक्त गर्नुभयो ।

अध्यक्ष तिमिल्सिनाको सम्मानमा टोकियोस्थित नेपाली राजदूतावासले बिहिबार साँझ टोकियोमा आयोजना गरेको रात्रिभोज कार्यक्रममा बोल्दै उहाँले ६६ वर्ष पुरानो दौत्य सम्बन्ध स्थापित नेपालको प्रमुख सहयोगी राष्ट्र मध्यको एक जापानमा नेपालको आफ्नै दूतावास भवन र यथेष्ट कर्मचारी नहुँदा कार्यसम्पादनमा असुबिधा हुनुका साथै जापानले नेपाललाई हेर्ने दृष्टिकोणमा समेत फरक पर्ने बिचार ब्यक्त गर्नुभयो ।

उसो त हरेक नयाँ राजदूत आउँदा होस् या अन्य नेताहरु आउँदा दूतावासको आफ्नै भवन हुनुपर्ने, कर्मचारीको दरबन्दी थपिनुपर्ने जस्ता लोकप्रिय एवं चर्को बहस यस अगाडि पनि धेरै पटक नउठेका होईनन् तर त्यसपछि उक्त बिषय बिस्तारै सेलाएर जाने गरेको पाईन्छ ।

एक अर्को प्रसंगमा उहाँले विदेशमा आएर पनि नेपालीहरु दलीय चिन्तनका आधारमा ध्रुबिकृत हुने र सोहीअनुसार ब्यवहार र धारणा बनाउने संस्कारबाट पनि माथि उठ्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष तिमिल्सिना गत जुलाई ३० र ३१ मा टोकियोमा भएको नेपाल फेस्टिबलमा प्रमुख अतिथिकारुपमा भाग लिन जापान आउनुभएको थियो ।
उहाँले कार्यक्रममा उपस्थित एनआरएन अभियानका जिम्मेवार अगुवाहरुप्रति लक्षित गर्दै समानान्तर कमिटी मार्फत हुने गरेका समानान्तर गतिविधि जस्ता एनआरएन जापानको आन्तरिक विवाद अहिलेसम्म मिलाउन नसक्नु लाजमर्दो बिषय भएकोले यथाशिघ्र मिलाउन अगुवाहरुलाई आग्रह गर्नुभयो ।
दुई दिवसीय नेपाल फेस्टिवल सफलताकासाथ सम्पन्न भएको र उक्त फेस्टिवलमा प्रस्तुत हाम्रा विविधतायुक्त कला र सँस्कृति मार्फत जापानी समुदायमा नेपाल चिनाउने काम भएकोमा उहाँले प्रसन्नता पनि ब्यक्त गर्नुभएको थियो ।

उक्त समारोहमा जापानका लागि नवनियुक्त राजदूत डा. दुर्गाबहादुर सुबेदी क्षेत्रीले राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाको यस भ्रमणबाट कोभिड लगायतका विविध कारणवश लामो समयदेखि अवरुद्ध दुई देशबीचको उच्च स्तरिय भ्रमणको पुनः ढोका खोलिदिएको बिचार ब्यक्त गर्नुभयो ।
जापानका लागि राजदूतको नियुक्ति पाएपछि आफ्नो जिम्मेवारी सम्हाल्न डा. सुबेदी क्षेत्री बुधबार टोकियो आईपुग्नुभएको हो ।

सो अवसरमा बोल्दै राजदूत डा. सुबेदी क्षेत्रीले आफ्नो कार्यकालमा मुख्यतया ३ वटा लक्षका साथ अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । जसअनुसार उहाँले नेपाल र जापान बीच रही आएको सुमधुर सम्बन्धलाई थप उचाईमा पुर्‍याउन भरमग्दुर प्रयास गर्ने, दूतावासबाट प्रवाह हुने सेवा एवं कार्यसम्पादनलाई थप चुस्त एवं दुरुस्त बनाउन आजको काम आजै सम्पन्न गर्ने भोलि नभन्ने र जापानबासी नेपालीहरुको समस्या समाधानमा निरन्तर प्रयत्नशील रहने प्रण गर्नुभएको छ । यसका साथै उहाँले समय समयमा दूतावासले मोवाइल सेवा मार्फत नेपालीहरुको घरघरमा सेवाको पहुँच पुर्‍याउने लक्ष रहेको पनि बताउनुभयो । उहाँले अगाडि भन्नुभयो – ‘यी सबै लक्ष प्राप्तिका लागि विगतमा झैं जापानबासी नेपालीहरुको सकारात्मक सहयोग, समर्थन र सहकार्यको अपेक्षा गरेको छु ।’

नवनियुक्त राजदूत डा. सुबेदी क्षेत्री सन् २००७ देखि २०११ को नोवेम्बरसम्म जापानको टोकियो स्थित नेपाली राजदूतावासमा उपनियोग प्रमुखको जिम्मेवारीमा हुनुहुन्थ्यो भने त्यसपछि संयुक्त अधिराज्य बेलायतका लागि राजदूत हुनुहुन्थ्यो ।

रात्रिभोज कार्यक्रममा जापानका विभिन्न संघसंस्थाका अगुवा, ब्यवसायी, पत्रकार तथा एनआरएन अभियान्ताहरुको उपस्थिति रहेको थियो ।

उक्त रात्रिभोजमा नबोलाईएकोमा असन्तोष ब्यक्त गर्दै सामाजिक सञ्जालमा भने  टिकाटिप्पणी सुरु भएका छन् । दूतावासद्वारा आयोजना गरिने यसप्रकारका कार्यक्रमहरुका बिषयलाई लिएर विगतमा पनि यस्ता टिकाटिप्पणी हुँदै आएका छन् । विगतबाट सिक्दै यस प्रकारका कार्यक्रमहरु आयोजना गर्दा दूतावासले पनि एउटा ठोस आधार र मापदण्ड तय गरी निमन्त्रणा गर्दा उपयुक्त हुने देखिन्छ । किनभने जापानको नेपाली समाजको मनोविज्ञान आजभन्दा एक दशक अगाडि र अहिले उस्तै छैन, यसबारे पनि ध्यान दिन आवश्यक रहेको भुक्तभोगीहरु बताउँछन् ।***

तपाईको प्रतिक्रिया