बिहिबार, भाद्र ०२, २०७९
Thursday, August 18, 2022

टोकियो – बहुचर्चित नेपाली कथानक चलचित्र ‘प्रेम गीत ३’ को सेप्टेम्बर २५ तारिखबाट जापानभर प्रदर्शन हुने भएको छ । ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ बक्स अफिसमा सफल भई अधिकतम चर्चामा आएको प्रेम गीत ३ जापानमा पनि रिलिज हुने भएको हो ।

स्व. छेतन गुरुङ र सन्तोष सेनको निर्देशनमा रहेको यस चलचित्र कोरोना महामारीको कारण रिलिज हुन सकेको थिएन । यस चलचित्र सम्भवतः नेपालकै पहिलो चलचित्र हुन सक्छ, जुन हिन्दी भाषामा पनि डब भई नेपाल र भारतमा सँगसँगै रिलिज हुँदैछ । चलचित्रको हिन्दी संस्करण नाम भने ‘विश्वजितम’ राखिएको छ ।

चलचित्र प्रेम गीत ३ आउँदो सेप्टेम्बर २३ मा विश्वभर रिलिज हुने घोषणा भएतापनि जापानमा भने सेप्टेम्बर २५ बाट मात्र प्रदर्शनमा आउने खाबुसिकी खाईस्या सेभेन सामुराई ईन्टरनेशनलका सञ्चालक तथा प्रबन्धक रेशम कुमार डंगोलले जानकारी दिए । अभिनेता प्रदीप खड्का र अभिनेत्री कृष्टिना गुरुङ मुख्य भूमिकामा रहेको यस फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, अनुभव रेग्मी, क्रिजन गौतम लगायतका कलाकारको अभिनय रहेको छ ।

यसअघि फिल्मका अन्य दुई शृङ्खला ‘प्रेम गीत’ र ’प्रेम गीत २’ बक्स अफिसमा सफल भएको कारण तेस्रो सिक्वेल निर्माण भएको हो । चलचित्रको सेभेन सामुराईले जापानको अफिसियल विक्रेताको राइट पाएको छ ।

नेपालको काठमाडौँ र जापानको सिजुओका केनको सिजुओका सीमा अवस्थित सेभेन सामुराई कम्पनीले कन्सल्टेन्सी, जिन्जाइ स्योकाइ, क्योदो कुमिआई, रेस्टुरेन्ट, हलाल फुड लगायत विभिन्न सेवाहरू दिँदै आइरहेको छ । चलचित्रको प्रदर्शनीमा नेपालीलगायत विभिन्न देशमा मनि ट्रान्सफर सेवा दिँदै आएको सिटी एक्सप्रेस जापानले पनि इभेन्ट पार्टनर र ग्लोबल मल्टिमिडिया प्रालिले व्यवस्थापन गरेको छ ।

सेभेन सामुराई ईन्टरनेशनल कम्पनी, सिटी एक्सप्रेस जापान र ग्लोबल मल्टिमिडियाको यो पहिलो संयुक्त सहकार्यमा हुने प्रेम गीत ३ को जापान शो जापानको १० शहरमा फिक्स भएपनि २३ शहरमा शो गर्ने योजना रहेको सेभेन सामुराई कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया