शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

नेपालको शिक्षा प्रणाली अनुसार माध्यामिक शिक्षाको अन्तिम वर्ष अर्थात कक्षा १० को फाइनल परीक्षा एसइइ उत्तीर्ण गरेपछि उच्चशिक्षाका लागि ढोका खुल्दछ । जसअनुसार राष्ट्रिय परीक्षा बोर्डले लिएको यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइइ) को नतिजा सार्वजनिक भएको छ । परीक्षामा सहभागी भएका ४ लाख ९५ हजार ७ सय ५१ जनाले एसइइ उत्तीर्ण गरेका छन् । जसमध्य करीब आधा जति छात्राहरु रहेका छन् । उच्चशिक्षाका लागि पहिलो खुडि्कलो पार गरेका यिनै किशोरकिशोरीहरु अब आफ्नो करियर कुन फिल्डमा बनाउने भन्ने अत्यन्त संवेदनशील बिन्दुमा उभिएका छन् । यस्तो बेलामा अभिभावकहरुले अत्यन्त सुझबुझका साथ उनीहरुको रुची र क्षमता अनुसारको क्षेत्रमा अगाडि बढ्न दिशा निर्देश गर्न सके अपेक्षित परिणाम हासिल गर्न सकिनेमा कुनै सन्देह रहँदैन ।

तर दुखको कुरो अपवादबाहेक अधिकाँश अभिभावकहरु आफ्ना नानीबाबुहरुलाई के पढाउने र कहाँ पढाउने भन्ने मै चरम अलमलमा देखिनुहुन्छ । आफ्ना सन्तानको भविष्यसंग जोडिएका यस्ता संवेदनशील बिषयमा हाम्रा अभिभावक पंत्ति अलि बेलैमा चिन्ता र चासो राख्ने, सम्बन्धित बिषयका ज्ञाताहरुसंग परामर्श लिने, आवश्यक परे सशुल्क भए पनि विज्ञहरुबाट परामर्श लिने गर्नुपर्दछ । आफ्ना नानीबाबुहरुको रुची, स्वभाव, क्षमता र अभिभावकको सामर्थ्यअनुसारको बिषयमा उच्चशिक्षाको हासिल गर्ने भन्ने कुरो अत्यन्त महत्वपूर्ण बिषय हो । तर हामीकहाँ यसलाई अत्यन्त हलुकारुपमा लिने गरेको पाईन्छ । अझ विदेशमा हुने अभिभावकहरु अधिकाँशको चाहना त आफुजस्तै विदेशमा बसेर बेलैमा कमाउन सुरु गरोस् भन्ने देखिन्छ । तत्कालका लागि त्यो ठीकै देखिए पनि कालान्तरमा उनीहरुको न त करियर बन्छ, न त हातमा कुनै शैक्षिक प्रमाणपत्र रहन्छ । शारीरिक श्रम गर्ने मजदुर कामका लागि बाहेक आजीवन उनीहरु कहिंकतै फिट हुन सक्दैनन् । यो वास्तविक तथ्यलाई ध्यानमा राखी आफ्ना काँचो माटो सरहका कलिला नानीबाबुहरुको भविष्यको रेखा कोर्ने गहन जिम्मेवारी अहिले तिनै अभिभावकहरुको काँधमा छ ।

पछिल्लो समयमा हामीलाई सँधै एउटा चिन्ताले भने निकै गिजोल्ने गरेको छ । हाम्रा नानीबाबुहरु कामकाजी भएनन्, ब्यवहारिक ज्ञानको अभाव देखियो, चाहिनेभन्दा बढि यान्त्रिक भए । टोलछिमेक, इष्टमित्र, को आफन्त, को पराई चिन्दैनन्, चिन्ने रुची पनि राख्दैनन्, आफ्नो जिम्मेवारी के हो हेक्का छैन, वाइफाइ, इन्टरनेट र साथी भए अरुको सरोकार छैन । कम्तीमा आफ्नो काम आफै गर्नुपर्छ भन्नेसम्म हाम्रो विद्यालय शिक्षाले सिकाएन । ठूलालाई सम्मान र सानालाई माया गर्नुपर्छ, आफ्नो वरिपरि आफै सफासुग्धर राख्नुपर्छ, आफ्ना लुगाफाटाको हेरचाह आफै गर्नुपर्छ भन्ने बाबुआमाले नसिकाएका हुन् कि गुरुहरुले नसिकाएका हुन् सुन्दा जो कोहीलाई उदेक लाग्छ तर यो तितो सत्य हो । यसमा हाम्रो शिक्षा प्रणाली, विद्यालयका गुरु र अभिभावक तिनै पक्ष चुकेको देखिन्छ ।

वैदेशिक रोजगारीका कारण कतिपय अभिभावक विदेशमा हुनु, आफ्ना नानीबाबुको पठनपाठनको जिम्मा अरु कसैलाई सुम्पनु, उनीहरु संगै नहुँदाको परिणाम भावनात्मक आत्मियतामा कमी आउनु, आफ्ना सन्तानको बाल्यावस्थामा आफु संगै हुनु र नहुनुमा आकाश जमिनको फरक बारे भेउ नपाउनु, उनीहरुको बालमनोविज्ञानलाई समयमै बुझ्न नसक्नु, हुर्कदै गरेका आफ्ना सन्तान रहेबसेको ठाउँ, छरछिमेक, वातावरण र उनीहरुका साथीसंगतीबारे नियमित अपडेट हुनुपर्छ भन्ने बारेमा ज्ञान नहुनु जस्ता कारणहरु अभिभावकीय पक्षका कमजोरी हुन सक्छन् जसले गर्दा हाम्रा नानीबाबुहरु हामीले अपेक्षा गरेअनुसारका भएनन् । तर उनीहरुलाई दोषारोपण गर्ने कुनै ठाउँ छैन । नेपाली समाजमा देखिएको यो एउटा तीतो सत्य र बहसको बिषय हो । यसमा सुधारको सुरुवात आफैबाट गर्नुपर्ने देखिन्छ ।

जस्तोसुकै अवस्थामा पनि आफ्ना सन्तान आफ्नै काखमा हुर्काउनु सबैभन्दा बुद्धिमानी हो । सन्तान भनेको चौपाय हैनन् जो पालनपोषण र हुर्काउनका लागि अरुलाई जिम्मा लगाईन्छ । आफैले हर्काएको आफ्ना सन्तान र अरुको जिम्मा लगाएर हुर्काएको आफ्ना सन्तानमा हरेक हिसाबले धेरै फरक हुने अनेकौं अध्ययनहरुले देखाएका छन् । कम्तीमा पनि माध्यामिक शिक्षासम्म बाबुआमाले आफ्ना सन्तान आफ्नै काखमा अर्थात रेखदेखमा हुर्काउने, बढाउने र पढाउने सँस्कारको बिकास हुनु वाञ्छनीय छ । अनि मात्र अपेक्षित परिणाम हासिल गर्न सकिएला ।***

तपाईको प्रतिक्रिया