शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको जापानको टोकियोमा अन्त्येष्टि गरिएको छ । शुक्रबार चुनावीसभालाई सम्बोधनका क्रममा बन्दुकधारीको गोली प्रहारबाट मृत्यु भएका आबेको आज अन्त्येष्टि गरिएको हो ।उनलाई अन्तिम श्रद्धाञ्जलि दिन हजारौँ मानिसहरू टोकियोको सडकमा लाइन लागेका थिए । आबेको शव बोकेको शववाहन गाडीले सहर परिक्रमा गर्दै उनको याद बोकेका धेरै स्थल पार गरेको थियो ।साथीभाइ र नजिकका आफन्तका लागि मात्र खुला रहेको निजी अन्त्येष्टि यसअघि जोजोजी मन्दिरमा भएको थियो । उनको सम्मानमा टोकियोभरि र मन्दिरबाहिर राष्ट्रिय झन्डा आधा झुकाइएको छ । श्रद्धाञ्जलि दिनेहरू लामो लाइनमा बसेका थिए ।धेरैले फूलका गुच्छा बोकेका छन् भने लाइन दुईवटा ब्लकसम्म फैलिएको थियो । भावविह्वल भएका धेरैले आबेले उनीहरूलाई सुरक्षा दिएको बताएका छन् । एक महिलाले भनिन्, ‘कोभिडको समयमा आबे प्रधानमन्त्री हुँदा उनले प्रभावकारी रूपमा देश सम्हालेका थिए ।’आबेले दोस्रो विश्वयुद्धपछि सबैभन्दा लामो समय प्रधानमन्त्री बनेर देशको सेवा गरेका थिए । उनी जापानको सबैभन्दा प्रभावशाली राजनीतिज्ञका रूपमा चिनिन्थे ।

तपाईको प्रतिक्रिया