शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौँ  सत्तारुढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्बको आर्थिक चलखेल गरेर सरकारले नेपाल आयल निगमलाई पनि व्यापारीको हातमा दिने तयारी गरिरहेको गम्भीर आरोप लगाएका छन् ।

६४ औं संसद दिवसको अवसर पारेर पूर्वसभामुख समेत रहेका वरिष्ठ नेता पौडेलले सरकारमाथि सो आरोप लगाएका हुन् । उनले नेपाल आयल निगम व्यापारीको हातमा दिएर अर्बौ कमाएर राजा बन्‍ने ध्यानमा सरकारमा रहेका मन्त्रीहरू लागेको भन्दै आपत्ति जनाए । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूले आयल निगम व्यापारीलाई दिन लागेको हो भनेर प्रश्‍न गर्न चाहेको उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले यो विषयलाई सञ्चार माध्यमहरूले अघि ल्याउनुपर्ने बताए ।

वरिष्ठ नेता पौडेलले किसानहरुलाई अझै मलको व्यवस्था गर्न नसकेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे । उनले समाजवादको ठूल्ठूला गफ दिने ठूला दल र तिनका नेताहरूले किसानलाई मलको मारमा पारेको देख्दा दुःख लाग्‍ने गरेको पटकपटक दोहोर्‍याए ।

वरिष्ठ नेता पौडेलले व्यवस्था परिवर्तनको खेलमा लाग्‍ने काम नगर्न पनि राजनीतिक दलहरूलाई सचेत गराए । ७० वर्ष संघर्ष गरेर टुंगो लगाएको संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाको विकल्प दलहरूले खोज्‍ने नमिल्ने उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया