बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रत्येक जिल्लामा फिल्म छायांकन केन्द्र विकास गर्ने सरकारको लक्ष्य रहेको बताएका छन् । यसले कानुनी, वैज्ञानिक र सामाजिक रुपमा फिल्मलाई समृद्ध बनाउन मद्दत गर्ने उनको भनाइ छ ।

बिहीबार नेपाल चलचित्र विकास बोर्डको २२ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमा मन्त्री कार्कीले फिल्म क्षेत्रको विकासका लागि मन्त्रालयले आवश्यक पहल गरिहेको बताए । ‘१० वर्षमा नेपाली फिल्म उद्योग दक्षिण एसियाको समृद्धमध्येमा पर्नेछ,’ उनले भने, ‘त्यसका लागि सहयोग गर्न सरकार तत्पर छ ।’

कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले नेपाली फिल्ममा विदेशी लगानी भित्र्याउन लगानी बोर्डसँग छलफल भइरहेको जानकारी दिए । ‘नेपाली फिल्ममा विदेशी लगाउने ल्याउने विषयमा लगानी बोर्डसँग छलफल भइरहेको छ,’ उनले भने, ‘नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय जगतमा प्रचारप्रसारका लागि पनि मन्त्रालयले पहल गरिरहेको छ ।’

अर्यालले काभ्रेको बनेपामा छायांकन स्टुडियो निर्माणको काम अगाडि बढिरहेको र त्यसका लागि वातावरण अध्ययनको काम अन्तिम चरणमा पुगेको बताए । उनले हलिउड र बलिउडका फिल्मसँग नेपाली फिल्मले प्रतिस्पर्धा गर्न दर्शकको चाहनालाई केन्द्रमा राख्नुपर्नेमा जोड दिए । आम दर्शकको चिन्तन, मौलिकता र विषयवस्तुको गहिरो अध्ययन गरेर फिल्म निर्माण गरे मात्रै विदेशी फिल्मसँग प्रतिस्पर्धामा उत्रिन सकिने उनले बताए । कार्यक्रममा विभिन्न ६३ जना फिल्मकर्मीलाई विशिष्ट चलचित्रकर्मी पचिरयपत्र समेत प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया