बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – नाइट क्लब ‘लर्ड अफ ड्रिङ्म्स’ (एलओडी) विश्वको ५२ औं उत्कृष्ट नाइट क्लबमा बन्न सफल भएको छ। काठमाडौंको ठमेलमा रहेको एलओडी भोटिङको आधारमा ५२ ‌औं स्थानमा पर्न सफल भएको हो। बेलायती पत्रिका ‘डिजे म्याग’ले संचालन गरेको भोटिङका आधारमा एलओडीले कुल पाँच सयभन्दा बढी प्रतिस्पर्धीमध्ये ५२औं स्थान हासिल गर्न सफल भएको एलओडीका सहसंचालक तथा सीईओ रवीन श्रेष्ठले बताए।

सन् २०१९ फेब्रुअरीबाट संचालनमा आएको एलओडीले तीन वर्षमै यो उपलब्धी हासिल गर्न सफल भएको हो। पहिलो अन्तर्राष्ट्रिय डिजे एन्टोबाट प्रस्तुति सुरु गरिएको क्लबले चर्चित नेपाली र अन्तर्राष्ट्रिय कलाकारमार्फत ग्राहकलाई मनोरञ्जन गराउँदै आएको छ। श्रेष्ठका अनुसार क्लबमा धेरै  नेपाली कलाकार र एक सयभन्दा बढी अन्तर्राष्ट्रिय कलाकारहरुको प्रस्तुति दिइसकेका छन्।

भविष्यमा टप टेनमा आउने लक्ष्य रहेको सहसञ्चालक श्रेष्ठले बताए। ‘यो प्रतिस्पर्धाबारे हामीलाई त्यति आइडिया थिएन। तीन वर्षको दौरानमा डिजे म्यागसँग सम्पर्क भयो। हामीलाई यस्तो प्रतिस्पर्धाबारे पहिले नै जानकारी हुन्थ्‍यो भने टप टेनमा नै आउथ्यौं कि जस्तो लाग्छ। निकट भविष्यमा हामी टप टेनमा आउने छौं।’ उनले भने।

नेपाल भ्रमणमा आउँदा एलओडीमा अनुभव लिएका अन्तर्राष्ट्रिय पर्यटक र एक सयभन्दा बढी अन्तर्राष्ट्रिय कलाकारहरुको प्रतिक्रियाका आधारमा यो उपाधी पाउन सफल भएको उनले बताए। क्लबले आगामी दिनमा आफ्नो सेवा थप नौलो र आकर्षक बनाउँदै लाने उनको भनाई छ। क्लबले निकट भविष्यमा बिर्तामोड, पोखरा, बुटवल लगायतमा फ्रेन्चाइज ल्याउने योजना बनाएको उनले सुनाए।

‘अहिले भारत र बङ्गलादेशमा पनि एलओडीको नाममा प्याकेज वितरण भइरहेको छ। नेपाल आयो भने काठमाडौं आउनै पर्ने, काठमाडौं आयो भने ठमेल र ठमेल आयो भने एलओडी जानै पर्ने चलन सुरु भैसकेको छ। हामी मुलुकको पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय बजारलक्षित आकर्षक प्याकेज ल्याउने तयारीमा छौं।’

ठमेलमा २६ आना जग्गा लिजमा लिएर सुरु भएको यो क्लबमा ९६०० वर्गफिट फ्लोर स्पेस रहेको छ। क्लबमा १६ करोड रुपैयाँ हाराहारी लगानी भएको श्रेष्ठले जानकारी दिए। १८ सयदेखि दुई हजारजना अटाउने क्षमता रहेको यो क्लबमा डेढ सयभन्दा बढी कर्मचारी कार्यरत छन्।

तपाईको प्रतिक्रिया