बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं । थापाथलीस्थित नर्भिक अस्पतालका चिकित्सकले बिनाशल्यक्रिया आमाशयमा अड्किएको चम्चा निकालेका छन् । नर्भिक अस्पतालका पाचन रोग विशेषज्ञ तथा पाचन रोग केन्द्रका प्रमुख डा. सन्दीपराज कुँवर नेतृत्वको टिमले बिना शल्यक्रिया इण्डोस्कोपी गरी आमाशयमा गएर अड्किएको चम्चा निकालेको हो ।

काठमाडाैंकै एक १७ वर्षीया किशोरीले झुक्किएर निलेको चम्चालाई बिनाशल्यक्रिया र बिना कुनै चोट निकाल्ने सफलता प्राप्त भएको हो । चम्चा नै निलेर आमाशयमा अड्किनु जटिल घटना हो । यस्तो घटनामा अड्किएको चम्चालाई निकाल्न शल्यक्रिया नै गर्नुपर्ने अवस्था भए पनि डा. कुँवरले निकै सुरक्षित तरिकाले इण्डेस्कोपी गरी बिनाशल्यक्रिया निकालेका हुन् ।

डा. कुँवरले नेपालमा सम्भवतः बिना शल्यक्रिया चम्चा नै आमाशयबाट सुरक्षित ढङ्गले निकालेको यो नै पहिलो घटना भएको दाबी गरे । डा. कुँवर नेतृत्वको टिमले यसअघि बच्चाहरूले झुक्किएर निकालेको सिक्का, झुक्किएर निलेको पिन र ठूलाले झुक्किएर निल्दा अड्किएको हड्डी समेत बिना शल्यक्रिया नै निकाल्दै आएको छ ।

‘साइक्ट्रेकि इलनेश (मानसिक बिरामी) भएका बिरामीले पानी खाने क्रममा झुक्किएर चम्चा निलेका हौँ तर यस्तो बिरामीलाई वाकवाक गरिरहन पर्ने र वाकवाकी गराउनका लागि चम्चा घाँटीतिर हाल्दा झुक्किएर निलेको देखिन्छ,’ डा. कुँवरले भने– ‘आमाशयमा गएर अड्किएको रहेछ । आन्द्रातिर जान नपाएको अवस्थामा हामीले सुरक्षित ढङ्गले चम्चा निकालेका हौँ ।’

आमाशयमा अड्किएको चम्चा ४५ मिनेटको प्रयासमा बिनाशल्यक्रिया निकालिएको थियो । ‘चम्चा निकाल्ने क्रममा कतै पनि कुनै चोट वा घाउ समेत लागेन, ’ डा. कुँवरले भने, ‘हाम्रा लागि नयाँ सफलता र नयाँ अनुभव दिने घटना पनि हो यो ।’ आइतबार चम्चा निलेर आएकी बिरामीलाई रातभर अब्जरभेसनमा राखेर सबै अवस्था नर्मल देखिएपछि सोमबार बिहान डिस्चार्ज गरिसकिएको छ ।

तपाईको प्रतिक्रिया