शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

सङ्लो पानीमा माछा त जो कोहीले पनि भेटाउन सक्छ तर, धमिलो पानीमा माछा भेट्टाउनु निकै कठिन छ । यो कलियुग हो,  यहाँका फु-मन्तरले कोही नढल्न सक्छ कोही नगल्न सक्छ । न त कृष्णको सुदर्शन चक्र जस्तै दुस्मनको गर्धन छेदन गर्न सक्छ ।

यो युगमा कसैलाई देवत्वकरण गर्न जरुरत छैन । देवता आस्था मात्रै हो, अदृश्य विश्वास हो, तपाईँको सोच हो । सकारात्मकता हो । देवता स्थिर हो, जसले कुनै काम गर्दैन, कान सुन्दैन, कुनै प्रतिक्रिया पनि दिँदैन, न खुसीमा हाँस्छ तपाईँसँग न चित्कारमा रुन्छ सँगसँगै । एउटा मन्दिरमा सजिएको निर्जीव मूर्ति उही देवता हो, उसैको धूमधाम पूजा हुन्छ । अब तपाई हामीहरूले रवि, बालेन र हर्कहरूलाई देवत्वकरण मात्रै गरिरहने हो भने- उनीहरू पनि देवता जस्तै स्थिर रहलान्, न बोल्लान्, न सुन्लान् हामी आस्थाले पूजा मात्रै गरिरहुँला परिणाम शून्य आउन सक्ला । होइन यिनीहरू मानव हुन सही गर्लान् गलत पनि गर्न सक्लान् । यसबेला खबरदारी, सकारात्मक सल्लाह, सुझाव र सहयोग गर्नु यो युगको आवश्यकता हो ।

सबैतिरबाट निराशा, वितृष्णा जन्मिरहेको यो बेला या साँच्चै भन्दा यो शताब्दीमा पनि ढुङ्गेयुग सरह जीवन बाँचिरहेका हामीहरूले कसैप्रति आशा राख्नु, लाग्नु र जाग्नु ठिकै त हो । विश्वास लाग्नु पनि ठिकै हो तर, आँखै चिम्लेर अन्धभक्त हुनु भने हुँदैन । प्रजातन्त्र पश्चताका लामा विगतहरू हेर्दा देशमा धेरै शासन सत्ताहरू अदली-बदली भए धेरै स्वर्णिम युगहरू बेकार साबित भए । धेरै दशकहरू उपलब्धिविहीन भए धेरै सरकारहरू फेरबदल भए तर जनताका रोजीरोटी खोजिएनन्, नागरिकका आवश्यकताहरूलाई परिपूर्ति गर्ने बाटाहरू रोजिएनन्, थोरबहुत केही संरचना बने विकास भयो त जबरजस्त हुनैपर्ने थियो भयो -मतलब सन्तान जन्मिसकेपछि परिवार धनी होस् या गरिब बालक जबरजस्त हुर्कन्छ नै, यो सृष्टिको नियमित प्रक्रिया नै हो । यसरी नै चलिरह्यो देश तिनैलाई अन्धभक्त बनी पुजिरह्यौ हामीहरूले देश यसरी नै क्रमशः संरचनागत, संस्थागत रूपमा नरक बन्दै गयो ।

आज समयले कोल्टे फेरेको छ एउटा खतरनाक कम्पन आएको छ नेपाली राजनीति परिवेशमा । नागरिकहरू जागेका छन् यसबेला पार्टीप्रति वितृष्णा देखिएको छ, जनमतले फरक धार अंगालेको छ । केही आशाका दियोहरू बल्न खोज्दै छन् देशमा ।

नयाँ अनुहारबाट नयाँ कामको आशा राख्नु स्वाभाविक हो, भोकाएका पेटहरूले चाँडै खान त खोजिहाल्छन् नि तर, भोकाएका छन् भन्दैमा अखाद्य वस्तु त दिनुभएन । नयाँ अनुहारहरूलाई फेरि पनि हामीले बिर्सेर पूजा नगरौँ गलत हुँदा खबरदारी र सहीमा सहयोग गरौँ बस् यति भए काफी छ गर्नेहरूका लागि । यहाँ त केही गर्न खोज्नेहरूले केही नगर्नेहरूसँग पनि डराउनुपर्छ । देशमा सिस्टम बसेको छैन संस्कार नै गतिलो छैन भन्दैमा अब हामी देश परदेश पढेका बुझेका र भोगेको युवाहरूले पनि त्यही संस्कारमा हाम फाल्नु पनि त भएन नि !

अबको समय तपाई आफूसँग केही क्षमता भएजस्तो लाग्छ भने सक्रिय राजनीतिमा तपाईँको हस्तक्षेप हुनैपर्छ । उही अनुहार र उही नेतृत्वबाट तपाई हाम्रो आशा र भरोसा हराइसकेपछि अब पनि हामी एउटा सानो घडेरी र सुन्दर घर र केही आर्थिक लाभको लागि जीवनको ऊर्जाशील वर्षहरू खेर फाल्नु समय सान्दर्भिक नहुने पो हो कि ? संसारका विकसित देशहरूलाई हेर्ने हो भने नागरिक बनेर देश बनेको होइन देश बनेर नै नागरिक बनेका हुन् । पहिला देश बन्नुपर्छ नागरिक आफैँ बन्नेछन् ।

अबको समय तपाई आफूसँग केही क्षमता भएजस्तो लाग्छ भने सक्रिय राजनीतिमा तपाईँको हस्तक्षेप हुनैपर्छ । उही अनुहार र उही नेतृत्वबाट तपाई हाम्रो आशा र भरोसा हराइसकेपछि अब पनि हामी एउटा सानो घडेरी र सुन्दर घर र केही आर्थिक लाभको लागि जीवनको ऊर्जाशील वर्षहरू खेर फाल्नु समय सान्दर्भिक नहुने पो हो कि ? संसारका विकसित देशहरूलाई हेर्ने हो भने नागरिक बनेर देश बनेको होइन देश बनेर नै नागरिक बनेका हुन् । पहिला देश बन्नुपर्छ नागरिक आफैँ बन्नेछन् ।

जबसम्म देशको राजनीति सुध्रँदैन, संस्कार बन्दैन तपाईँको न त सम्पत्तिको सुरक्षा हुन्छ न त जीवन नै सुरक्षित हुन्छ । देशमा आज पनि हजारौँ सक्षम ईन्जिनियरहरु उत्पादन हुन्छन्, डाक्टरहरू, आइटी स्पेलिस्टहरु हरेक वर्ष उत्पादन भई नै रहन्छन् तर, देशको राजनीति अस्थिरताले देशमै रोजगार पाउँदैनन् र राम्रो अवसरको खोजीमा विदेश पलायन हुन्छन् र देश नै फर्कँदैनन् । उनीहरूको क्षमता परदेशभरि ओछ्याइन्छ । यसको दीर्घकालीन असर देशमा नै पर्नजान्छ या ऊर्जावान् र क्षमतावान् युवाहरू सारा परदेशिए पछि कसरी होला विकास कसरी बन्ला र देश ।

व्यक्तिगत रूपमा तपाई जति सुकै धनी बने पनि अस्थिर राजनीति, अस्थिर व्यवस्था भएको मुलुकमा तपाई फेरि क्षण भरमा गरिब बन्न के बेर ? जहाँ तपाईँको जीवनकै सुरक्षा छैन त सम्पत्तिको के कुरा ।

अब एउटा यस्तो संगिन मोड आइपुगेको छ देशमा, यो बेला सचेत युवाहरू जागेको समय हो । युवाहरूले विकास खोजिरहेको अवस्था हो । धेरै देश परदेश देखेका युवाहरूमा देश बनेपछि मात्र नागरिक आफै बन्दा रहिछन् भन्ने चेत खुलेको समय हो । देश सानो छ युवाहरू अधिक भएको देश हो प्रकृतिले पूर्ण भएको देश हो हाम्रो तर, आजसम्म देशले धेरै थरिका रंगिन नेताहरू त पायौँ नै तर, कुशल व्यवस्थापक पाउन नसकेको परिणाम हो वर्तमान नेपाल ।

खहरे उर्लँदा भेल छोपिएर रोपाई गरिएन भने मङ्सिरमा कसरी मुरी उब्जाउने र ? अबको समय भेल छोपेर मुरी उब्जाउने हो । गल्ती गरियो भने भोलि फेरि पछुताउनुपर्छ । आफ्नो क्षेत्रमा ख्याति कमाएका व्यक्तिहरूले अब यो देशको केन्द्रीय राजनीतिमा हस्तक्षेप गर्नैपर्छ । चाहे ए बि सी जो सुकै आउन बालेन, हर्क र रविहरू त प्रतिनिधि पात्र मात्र हुन् । अबको समय जनप्रतिनिधि मालिक बन्न होइन सेवक बन्न आउनुपर्छ जनताको मत जितेर होइन मन जितेर आउनुपर्छ ।

अब यस्तो संस्कारको थालनी गरौँ, देशका जनप्रतिनिधिहरूलाई एकअर्कामा विकासको प्रतिस्पर्धा गरुन् । अबको राजनीतिमा राजनीतिक पेशेवरलाई होइन– एउटा सक्षम इन्जिनियरलाई देशको केन्द्रीय राजनीतिमा हस्तक्षेप गराउने वातावरण सृजना गरौँ, वरिष्ठ डाक्टर, सफल उद्योगी व्यवसायी जसले समाजमा राम्रो कार्य गरेको हुन् । समाजका हर क्षेत्रका सफल व्यक्तिहरूलाई राजनीतिमा स्वागत गर्ने साहस गरौँ परिवर्तन र नयाँ अनुहारमा थोरै आशावादी बनौँ गलत गरेमा खबरदारी गर्दै अघि बढौँ । परिवर्तन असम्भव भने छैन ।

हाम्रो देश हामीले र हाम्रै देशभित्रका नागरिकहरूले मात्रै बनाउन सक्छन् । हरेक क्षेत्रका रिटायर्ड एक्सपर्टहरुलाई सल्लाहकारको रूपमा स्विकार्ने हिम्मत पनि गर्नैपर्छ । युवाहरूमा धेरै जोस हुन्छ, सँगसँगै उत्तेजना पनि त्यसैले रिटायर्ड विज्ञहरू साथमा रहनु जरुरी छ । हामी युवाहरूले देश बन्दैन, कसैले नि गर्न सक्दैन, देश नै यस्तै हो ? यस्ता नकारात्मक सोच त्यागेर आउने र आएका नयाँ पुस्ताहरूलाई सपोर्ट र खबरदारी गर्नैपर्छ । अब हर्क बालेन र रविहरूलाई स्वागत गर्दै खबरदारी गर्दै अघि बढेमा देशले गति अवश्य लिनेछ ।

अब सबै शंकाको घेरा तोडिदिनुस् र नयाँ आउने सक्षम नागरिकहरूलाई सक्रिय राजनीतिमा देशभरिबाट हस्तक्षेप गराउने अभियानमा लागौँ । हर्क, बालेनको उदयले एउटा फरक धार समातेको बेला संसदीय चुनावमानसमेत रवि, कवि, लेखक, इन्जिनियर डाक्टर सबै सक्षमहरूलाई देशभरिबाट स्वागत गरौँ ।

आजसम्म देशको कुनै पनि क्षेत्र चुस्त र स्वच्छ नभएका देशका हामी नागरिकहरूलाई शंकाको सुविधा भने छँदै छ सधैँभरि । तर सधैँ आफू पनि राजनीतिमा होमिन नसक्ने र होमिएका सक्षम नागरिकहरूलाई पनि सपोर्ट गर्न कन्जुस्याइँ गर्ने हो भने देश कदापि बन्नै सक्दैन । देशको तपाईँलाई चासो छैन, मलाई चासो छैन, चासो कसलाई हुने ? अनि देश बनाउने ठेक्का कसले लिने ?

कसैले देश बनाइदेला र, म खुसीले रमाउँला र देश फर्कुँला, त्यति गाह्रो राजनीति म चाहिँ गर्न सक्दिन, आ..जून जोगी आए पनि कानै चिरेको, नेपाल कहिल्यै बन्दैन हो, नेपालमा नि के बस्नु यार केही त छैन, विदेशमा दुई चार लाख कमाइएकै छ जाबो नेपाल पनि जान्छ कोही, यहाँ गाडी चढ्ने बानी परिसक्यो अब नेपाल गएर हिँड्न सकिँदैन, सकेसम्म विदेश बस्ने नेपाल त बुढेसकालमा मात्र जाने हो- यिनै सोच र मानसिकताले हुन् देश झनै बिग्रने त । अब अरूलाई गाली होइन सकारात्मक साथको खचकाको छ गर्नेहरूलाई ।

अब यी सब नकारात्मक सोच र चिन्तन गर्न छोडिदिनुस् । भैगो तपाई आफै राजनीतिमा होमिन सक्नुभएन त्यो पनि चिन्ता छैन, आउँदै गरेका राम्रा र सक्षमहरूलाई त हौसला उत्साह दिनुस्, सके सहयोग गरिदिनुस्, नसके उनीहरूको बाटोमा अवरोध खडा नगरिइदिनुस् ।

अब सबै शंकाको घेरा तोडिदिनुस् र नयाँ आउने सक्षम नागरिकहरूलाई सक्रिय राजनीतिमा देशभरिबाट हस्तक्षेप गराउने अभियानमा लागौँ । हर्क, बालेनको उदयले एउटा फरक धार समातेको बेला संसदीय चुनावमानसमेत रवि, कवि, लेखक, इन्जिनियर डाक्टर सबै सक्षमहरूलाई देशभरिबाट स्वागत गरौँ । जय देश ! जय मातृभूमि !!

  • मोहन खतिवडा -टोकियो, जापान

तपाईको प्रतिक्रिया