शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री शेरबहादुर देउवाको ज्योतिष सुरेशचन्द्र रिजालको भविष्यवाणी मिलेको छ । स्थानीय तहको चुनावअघि पूर्वप्रधानमन्त्रीसमेत रहेको एमाले अध्यक्ष ओलीले वर्तमान सत्ता गठबन्धन असार १७ गतेपछि नटिक्ने भविष्यवाणी गरेका थिए । ओलीको भविष्यवाणीसँगै मिल्ने गरी शनिबार देउवाका ज्योतिष रिजालले पनि भविष्यवाणी गरेका छन् ।

उनले असार ५ गतेबाट शनिदेखि सूर्य ग्रह बसेको राशिसम्म बन्दै आएको शक्तिशाली राजयोग क्रमशः असार ७ र १७ गते बाट भङ्ग हुने बताएका छन् । शनि बसेको राशिबाट सूर्य ग्रह बसेको राशिसम्म क्रमशः आठ ओटै ग्रह एउटै लाईनमा बसेर एकअर्कालाई साथ र सहयोग हुँदै आएको महत्त्वपूर्ण योग भङ्ग हुँदा यसको असर समग्र सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमै नकारात्मक रुपमा प्रभाव पार्ने देखिएको रिजालले उल्लेख गरेका छन् ।

उनले विशेष सावधानी अपनाउन नसके पुनः दल विभाजनको प्रक्रियातर्फ अगाडि बढ्न सक्नेसम्मको योग निर्माण भएको सचेत गराएका छन् । यसको अर्थ दल विभाजन भएमा वर्तमान सत्ता गठबन्धन टुट्ने सम्भावना छ । हाल सत्तामा रहेको नेकपा एकीकृत समाजवादी र जसपामा विवाद छ । त्यसैतर्फ संकेत गर्दै रिजालले शक्तिशाली राजयोग क्रमश भङ्ग हुँदै गएको र सावधानी अपनाउन नसके पुनः दल विभाजनको प्रक्रियातर्फ अगाडि बढ्न सक्नेसम्मको योग निर्माण भएको बताएका हुन् ।

ओली र रिजालले भविष्यवाणी गरेजस्तै असार १७ पछि सत्ता गठबन्धन टुट्छ कि टुट्दैन ? ज्योतिषको सल्लाह सुनेर देउवाले कस्तो कदम उठाउँलान् ? त्यसका लागि भने केही दिन पर्खिनैपर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया