बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीले आफ्ना नयाँ मन्त्रीहरूलाई शपथ नगराएमा पार्टीको अपमान भएको सम्झिने जनाएको छ ।  पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीको निर्णय अनुसार मन्त्री फेर्ने निर्णय सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल कार्यान्वयन गर्नु पर्ने भने त्यसो नभएमा पार्टीको अपमान भएको मानिने बताएका हुन् ।

उनले आफूहरूले लामो समयसम्म पर्खिएको बताउँदै प्रधानमन्त्री देउवा र गठबन्धनका नेता पुष्पकमल दाहाल प्रचण्डले सो निर्णय कार्यान्वयन गर्नुपर्ने बताए । प्रवक्ता खतिवडाले भने- ‘आजसम्म हामीले जतिसम्म प्रधानमन्त्रीलाई पर्खियौँ, प्रचण्डलाई पर्खियौँ, अब हामीले उहाँहरूलाई पर्खिने छैनौँ । तत्काल नयाँ मन्त्रीहरूलाई शपथ गराउने काममा लाग्नुहोस् । अब उप्रान्त पनि ढिला गर्नु भयो भने हामीले हाम्रो अपमान भएको सम्झिने छौँ भन्ने निर्णय भएको छ ।’

एकीकृत समाजवादीको स्थायी कमिटीले जेठ २२ मा चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । शहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, श्रममन्त्री किसान श्रेष्ठ र पर्यटनमन्त्री प्रेम आलेलाई फिर्ता बोलाएर स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई मन्त्रीमा सिफारिस गरेको थियो । शहरी विकासमा मेटमणि चौधरी, श्रममा शेरबहादुर कुँवर, पर्यटनमा जीवनराम श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीको नाम पठाएको थियो ।

तर संसद्मा बजेटमाथि छलफल चलिरहेको र अरू दलमा पनि मन्त्री फेर्ने दबाब बढेको भन्दै सत्तारुढ गठबन्धनमा तत्काल मन्त्री नफेर्ने तर बजेट अधिवेशनको समाप्ति पछि कार्यान्वयन गर्ने सहमति भयो । नेताहरूले त्यति बेला नै प्रधानमन्त्री शेरबहादुर देउवा बजेट पास भएपछि मन्त्रीहरू हेरफेर गर्न सहमति भएको बताएका थिए ।

तपाईको प्रतिक्रिया