बिहिबार, आषाढ १६, २०७९
Thursday, June 30, 2022

काठमाण्डौ – सरकारले जापान सरकारबाट नेपालको मानव संसाधन विकासका लागि प्राप्त हुने जापानी येन ३७६ मिलियन (३६ करोड ६२ लाख रुपैयाँ बराबर) को अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । जेठ ३१ गते बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै आज बिहीवार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञोनेन्द्रबहादुर कार्कीले यो जानकारी दिनुभएको हो । त्यस्तै बैठकले नेपाल सरकार र बेलायत सरकारको बीचको द्विपक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ ।

सरकारले सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा मोहनकृष्ण सापकोटालाई नियुक्त गरेको छ । प्रवक्ता कार्कीले सार्वजनिक खरिद पुनरावलोकन समितिका अध्यक्ष भीमकुमार ओझाको राजीनामा पनि स्वीकृत गरेको बताउनुभयो । सरकारले एपीजी एसिया प्यासिफिक ग्रुप अफ मनी लर्निङको मिति २०७९ साउन ८ देखि १२ गतेसम्म मेलेसियामा आयोजना हुने वार्षिक साधारण सभामा सहभागिताका लागि सचिवद्वय धनराज ज्ञवाली र उदयराज सापकोटाको वैदेशिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ ।

त्यस्तै मिलिनियम च्यालेन्ज अकाउन्ट नेपाललाई रातमाटे सबस्टेशन निर्माणका लागि नुवाकोटको बेलकोटगढी नगरपालिकामा जग्गा उपलब्ध गराउने निर्णय भएको छ । २०७९ असार ११ र १२ गते स्विट्जरल्यान्डमा आयोजना हुने नाइन्टी सेकेन्ड एनियल जनरल मिटिङ अफ द बैंक अफ इन्टरनेशनल सेटलमेन्ट विषय कार्यक्रममा भाग लिन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई स्वीकृत दिने निर्णय पनि भएको मन्त्री कार्कीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया