शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

नेपालमा यतिबेला अत्यधिक गर्मी छ । तराईमा गर्मीको समयमा ३७ डिग्री औसत तापक्रम हुने गर्छ । तापमान वृद्धिको यो समस्या विश्वव्यापी छ । पेरिसमा गत शुक्रबार मात्रै ४५.१ डिग्री सेल्सियस तापक्रम मापन गरियो ।

यी तापक्रम वृद्धिका उदाहरण मात्रै हुन् । संसारमा तापक्रम उच्च हुने केही क्षेत्र छन्, जहाँको तापक्रम तपाईं हामीलाई अस्वाभाविक लाग्न सक्छ । किनकि, हामीमध्ये धेरैलाई अफ्रिका तुलनात्मक रुपमा अरु क्षेत्रभन्दा गर्मी छ भन्ने लाग्छ ।

सहारा मरुभूमि रहेको अफ्रिकाको ठूलो क्षेत्र र अफ्रिकाका केही अन्य क्षेत्र वास्तवमै गर्मी भएकाले हामीलाई त्यस्तो लाग्नु स्वाभाविक हो । तर, अफ्रिकाबाहेक विश्वमा केही यस्ता भूभाग छन्, जहाँको तापक्रमबारे थाहा पाउँदा हामीलाई आश्चर्य लाग्छ ।

मृत उपत्यका, अमेरिका
रातभर जागा रहने तर दिउँसो सुनसान हुने यो स्थानमा सबै वस्तु सुक्खा भेटिन्छन् । संसारकै सबैभन्दा बढी तापक्रम हुने क्षेत्रमा पर्ने यसले कहिलेकाहीँ तापक्रमको रेकर्ड तोड्ने गर्छ । यहाँको औसत तापक्रम ४६ डिग्रीको हाराहारी रहन्छ । तर, सन् १९१३ मा यहाँको तापक्रम ५६.७ डिग्री सेल्सियस पुगेको थियो । यो हालसम्मकै सबैभन्दा बढी तापक्रम हो ।

तिरात जभी, इजरायल
यो स्थानमा १ हजारभन्दा कम मानिसको बसोबास छ । यो स्थानमा सन् १९४२ मा सबैभन्दा बढी तापक्रम मापन गरिएको थियो । यो स्थान अहिले पनि गर्मी स्थानमै पर्छ । यहाँको औसत तापक्रम ३७ डिग्रीसम्म हुन्छ । यहाँबाट नदी पनि धेरै टाढा छैन तर गर्मी पनि असाध्यै हुन्छ ।

अजिजियाह, लिबिया
पछिल्लो ९० वर्षमा यो स्थान सबैभन्दा बढी गर्मी अनुभूति गरिएको क्षेत्र हो । सन् १९२२ मा यहाँको तापक्रम ५८ डिग्री सेल्सियस मापन गरिएको थियो । यहाँ निरन्तर ४८ डिग्रीसम्म तापक्रम हुने गरेको छ । यो सहर समुद्रबाट एक घण्टाको दूरीमा मात्रै पर्छ । तर, पर्याप्त चिसो हुँदैन ।

केबिली, ट्युनिसिया
भूमध्य सागरबाट नजिकै रहेको ट्युनिसियाको यो क्षेत्र राम्रो र चिसो होला भन्ने लाग्छ । तर, केबिली यो भन्दा फरक छ । यहाँ सबैभन्दा बढी ५५ डिग्रीसम्म पुगेको थियो । यहाँका मानिसले कठोर अवस्थामा पनि आफूलाई समायोजित गर्न र छायामा जीवन बिताउन सिकेका छन् ।

तिम्बुक्तु, माली
प्राचीन सहर तिम्बुक्तु सहारा मरुभूमि नजिकै पर्छ । यो व्यापारिक मार्गका रुपमा पनि चर्चित छ । हरेक वर्ष यहाँ औसतमा ३० डिग्री सेल्सियस तापक्रम हुन्छ । त्यहाँका स्थानीयले तातो मौसममा पनि रहन सक्ने गरी आफूलाई तयार बनाएका छन् ।

वादी हल्फा, सुडान
वादी हल्फा तालको किनारमा रहेको सहर हो । गर्मीको समयमा धुलो भरिएको हावा चल्नु समान्य हो । यहाँको औसत तापक्रम ४१ डिग्री रहन्छ । सन् १९६७ मा यहाँको तापक्रम ५३ सेल्सियस मापन गरिएको थियो । तपाईंलाई यो सुडानको सबैभन्दा उत्तरी क्षेत्र भएकाले चिसो क्षेत्र होला जस्ता लाग्न सक्छ । तर, यो गर्मी क्षेत्रमध्ये पर्छ ।

दस्त–ए लुट मरुभूमि, इरान
यो अत्यधिक गर्मी क्षेत्रमध्ये एक हो । पछिल्लो २० वर्षमा ७० डिग्रीसम्म तापक्रम मापन गरिएको छ । यो मरुभूमि २०० माइल क्षेत्रमा फैलिएको छ । यस क्षेत्रमा वन्यजन्तु समेत हुँदैनन् । यो क्षेत्र पर्यटक र प्रकृतिप्रेमीका लागि लोकप्रिय छ ।

तपाईको प्रतिक्रिया