बिहिबार, आषाढ १६, २०७९
Thursday, June 30, 2022

पहिला-पहिला रुखमा लाग्ने धमिरा यतिबेला सूर्यमा पनि सरेको छ । हामीलाई थाहा नै छ कि धमिरा लागे पछि रुख बाहिरबाट राम्रो देखिए पनि भित्र खोक्रो भई सकेको हुन्छ । यतिबेला रत्ननगरमा सूर्य (एमाले) त्यस्तै अवस्थामा पुगेको छ ।

अन्य ठाउँमा पनि एमालेमा धमिरा नलाएका होइनन्, अनिवार्य समीक्षा गर्न पर्छ । यतिबेला भने म आफै जन्मेको र हुर्केको ठाउँ रत्ननगरमा एमालेका धमिराको चर्चा गर्दैछु । रत्ननगरमा एमालेले आफ्नो विरासत जोगाउन सकेन । गएको स्थानीय निर्वाचनमा मेयर, उपमेयर सहित बहुमत पाएको एमालेले यस पालिको स्थानीय निर्वाचनमा भने नमिठो हार व्यहोर्न परेको छ ।  हुन त एमालेका स्थानीय टाउकेहरूलाई अहिले एमालेले गठबन्धनका कारण हार्‍यो भन्न सजिलो छ । तर टाढा जानु पर्दैन, चितवनकै माडी, कालिका र ईच्छाकामनामा एमालेले जितेको होइन र ? अन्य हारेको ठाउँमा पनि झिनो मत अन्तरले मात्रै हारेको अवस्था हो ।

रत्ननगरको कुरा गर्ने हो भने यस अघि उपमेयर बन्नु भएकी अहिलेकी एमालेको तर्फबाट उम्मेदवार बन्नु भएकी विमलादेवी दुवाडीले ठूलो अन्तरले हार व्यहोर्न पर्‍यो । नेपाली कांग्रेसका प्रल्हाद सापकोटाले २० हजार७ सय ९६ मत ल्याउँदा विमलादेवी दुवाडीले १२ हजार ७ सय २८ भोटमा चित्त बुझाउन पर्‍यो । चुनाव प्रचारप्रसारका क्रममा विमला अण्टीले कांग्रेसका प्रल्लाद सापकोटालाई हामी एउटै वडाका होऊ, उ त मेरो छोरो हो, मैले जित्छु भन्दै हिँडेको सुनेको , देखेका थियौँ । तर उहाँलाई थाहा रहिनछ, अब जवाना छोरा, नातिको हो । जनताले सधैँ एउटै अनुहार होइन, नयाँ जोस भएको अनुहारको अपेक्षा गरेको छ। कि त पदमा बस्दा सम्झन लायक काम गर्न जरुरी छ । उपमेयरमा पनि ठूलो अन्तर नभई यादव पाठकले विजय भएर केही भए पनि इज्जत धाने । त्यस्तै वडा अध्यक्षहरू १६ वडा रहेको रत्ननगरमा ५ बटा वडामा मात्र एमालेले जित्न सक्यो ।

यसअघि मेयरमा जितेको ठाउँमा ८ हजार भन्दा बढी मतले किन हारियो ? वडाहरूको हालत पनि त्यस्तै छ । नेतृत्वले समीक्षा गर्न पर्दैन ? अहिले हार्ने उम्मेदवारबाट अर्न्तरघात भन्ने शब्द खुबै सुनिन्छ , भोट नआउँदा अर्न्तरघात भन्नेले पार्टीको आफू सही उम्मेदवार नभएर हारेको भन्ने महसुस चाहिँ गर्न पर्दैन । पार्टीमा त्यागी , प्रभावशाली तथा जनताले पत्याएकालाई पाखा लगाउँदै राम्रो लाई नभई हाम्रोलाई उम्मेदवार बनाउनुको परिणाम यस्तै हुन्छ । स्थानीय निर्वाचनमा तल्ला कार्यकर्ता तथा एमालेका शुभ चिन्तक भए पनि स्थानीय उम्मेदवार चित्त बुझ्दो नउठ्दा अन्त्र मतदान हुन सक्छ । तर पार्टीको नेतृत्वमा रहेर पनि अनधिकारिक उम्मेदवारलाई सहयोग नगर्ने, भित्रभित्रै फलानोलाई भोट नहाल भन्दै हिँड्नेमाथि अवश्य छानबिन हुनुपर्छ । त्यस्तो कार्य गर्ने धेरैको नाम आएका छन् । नेताले अन्तरघाती भनेर फेसबुक भरि हालेर अर्थ छैन, छानबिन गर्नुस्, दोषी भए कार्यवाही गर्नुस् होइन र ?

यति मात्र आग्रह छ, नेतृत्वले नगरमा भएका पार्टीका कमी कमजोरीको बैलैमा गहन समीक्षा होस् । स्थानीय निर्वाचनमा पराजय भोगेपछि नैतिकता भए रत्ननगरका नेतृत्वले राजीनामा दिएर मार्ग प्रशस्त गर्न सक्नुपर्छ । नभए पनि पार्टीलाई पुनर्गठन गरेर सच्चा कमरेडहरूलाई समेटियोस् अन्यथा रत्ननगरमा एमाले खोज्न पर्ने दिन नआउला भन्न सकिन्न ।

एमालेमा कोही मान्छे नै नभए जस्तै एउटै दोहोराएर उम्मेदवार बनाएको पनि देखियो । रत्ननगर -४ मा त तेहेराएर एउटै मान्छेलाई उम्मेदवार बनाइयो । फुटबल गेम हो र ह्याट्रिक गर्न खोजेको ? वर्षौँ सम्म एउटै व्यक्ति टाउके भएको कति हेर्नु जनतालाई दिक्क लागि सकेको हुन्छ । त्यसकै परिणाम हार व्यहोर्न परेको छ । धन्न निवर्तमान मेयर सापले त ह्याट्रिक गर्न आँट्नु भएन छ । नत्र अरू झैँ उत्ताने टाङ् लाग्नु पर्थ्यो । आफू नउठेर के भयो त , जीवन सङ्गिनीलाई उप- मेयरमा उठाउन जोड -तोड गर्नु भएको थियो नै । निवर्तमान मेयर सापले रत्ननगरलाई रत्न बनाउँछु भनेको सुन्दासुन्दै जनताको कान ठटाएको थियो । कस्तो बन्यो रत्ननगर तपाई हाम्रो माझ छर्लङ्ग छ। मेयरमा उठ्नु भएकी विमला अण्टीको के कुरा गर्ने मेयरको प्रतिस्पर्धा मेरो गाउँको छोरा हो, त्यसै जित्छु भन्दै हिँडेकी उनी गाउँको छोरासँग लज्जास्पद हार्न किन उठ्न परेको होला । बुढाबुढी नै मेयरका उम्मेदवारको दाबी गर्ने ! दुई मध्ये एउटै नभई नहुने । अहिले एउटाकाे यस्तो हालत भयो, अर्का ५ वर्ष पछि अवश्य मेयरमा म नउठी छोड्दिन भन्ने छन्, अनि यस्तै हालत हुन्छ । उदेक लाएर आउँछ, जहाँ सुकै यिनीहरूलाई नै पद चाहिने । कुनै संघसंस्था छैन, उनीहरूलाई पद नचाहिने । विद्यालय व्यवस्थापन समिति, सहकारी, खानेपानी, पार्टी, अस्पताल जहाँसुकै यिनीहरूलाई नै पद र अवसर चाहिने ।

रत्ननगर नगरपालिकाको स्थापनाको कुरा गर्दा यो शुरुमा रत्ननगर गाविस र पञ्चकन्या गाविस मिलेर बनेको हो । पछि यसमा पिठूवा गाविस र बछौली गाविस पनि गाभियो । यो चितवनकै ठूलो नगरपालिकामा पर्छ।  यसको धेरै भूभाग ग्रामीण क्षेत्र छन् । तर रत्ननगरमा एमालेको पार्टी नेतृत्वको बोलवाला भने बजार एरिया र राजमार्गको ५ सय मिटर दायाँ-बायाँ रहेका मुठ्ठीभरका कमरेडको मात्रै छ। उनीहरूकै वडामा एमाले पत्ता साफ भएको छ । एमालेले जितेका केही वडा ग्रामीण क्षेत्रका मात्र छन् । अझै उनीहरूकै कारण जितेझैँ सामाजिक सञ्जाल उनीहरुले नै पहिला रंगाउँछन् ।

के रत्ननगर भनेको टाँडी बजार मात्र हो ? होइन भने ग्रामीण क्षेत्रलाई किन उपेक्षा गरिन्छ ? मलाई सम्झना छ करिब १ दशक अगाडी रत्ननगरको एमालेमा यस्तै बेथिति थियो । त्यति बेला नेकपा (एमाले) को स्थानीय नेतृत्वको गतिविधिका कारण पार्टीमा नातावाद, कृपावाद अनि सङ्कीर्ण सोच मौलाउँदै गएको भन्दै एमाले छोडेर एक हुल कार्यकर्ता माओवादीमा जाँदा रत्ननगरको नेतृत्वले निचोर्न पर्ने पिलो आफैँ फुट्यो जस्तो गरे । त्यसै बेला माओवादीमा गएका मध्येका एकले अहिले माओवादी रत्ननगरको अध्यक्ष भई नेतृत्व गरिरहेका छन् । त्यति बेलाको त्यही वडा जहाँ एमालेको गड मानिन्थ्यो । अहिले रत्ननगर नगरपालिका भरिमा त्यही रत्ननगर -१२ मा माओवादीले पहिलो पटक वडा अध्यक्ष जितेको छ ।

अन्यमा नेकपा (एमाले)को शुभ चिन्तक हुनुको नाताले यति मात्र आग्रह छ, नेतृत्वले नगरमा भएका पार्टीका कमी कमजोरीको बैलैमा गहन समीक्षा होस् । स्थानीय निर्वाचनमा पराजय भोगेपछि नैतिकता भए रत्ननगरका नेतृत्वले राजीनामा दिएर मार्ग प्रशस्त गर्न सक्नुपर्छ । नभए पनि पार्टीलाई पुनर्गठन गरेर सच्चा कमरेडहरूलाई समेटियोस् अन्यथा रत्ननगरमा एमाले खोज्न पर्ने दिन नआउला भन्न सकिन्न ।

  • लेखक न्यौपाने प्रेस चौतारी चितवनका पूर्व अध्यक्ष हुन् । 
तपाईको प्रतिक्रिया