बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – आठ वर्षअघि एक ‘सुन्दरी प्रतियोगिता’ मा सहभागी युवतीमाथि आयोजकले बलात्कार र यौन दुर्व्यवहार गरेको घटनामा छानबिन शुरू भइसकेको गृह मन्त्रालयले जनाएको छ ।

आज (शनिबार) गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले प्रेस विज्ञप्ति जारी गरी महिलामाथि हुने हिंसाका घटनामा दोषीलाई हदैसम्मको कारबाही गर्न सरकार प्रतिवद्ध रहेको जनाएका छन् । अहिले सार्वजनिक भएको घटना पनि छानबिन शुरू भइसकेको उनले बताएका छन् ।

आठ वर्षअघि ‘मिस ग्लोबल इन्टरनेसनल’ मा सहभागी युवतीमाथि आयोजकले नै बलात्कार र यौन दुर्व्यवहार गरेको सार्वजनिक भएको थियो । पीडित युवतीले सामाजिक सञ्जाल टिकटकमार्फत घटना सार्वजनिक गरेकी थिइन् ।

त्यसमा दोषीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन भइरहेको छ । त्यस्तै प्रतिनिधि सभामा पनि सांसदहरूले यस विषयमा बोलेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार प्रतिनिधि सभाको बैठकमा घटनाको छानबिन गरी दोषीलाई कारबाहीको दायरमा ल्याउन सरकारलाई निर्देशन दिएका थिए ।

यस घटनामा सरकारको ध्यानकर्षण भएको गृह मन्त्रालयले जनाएको छ । ‘वरिष्ठ प्रहरी उपरीक्षक वसन्त कुँवरको संयोजकत्वमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायव उपरीक्षक कोपिला चुडाल, प्रहरी नायव उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का समेत रहेको छानबिन समितिले मिति २०७९/०२/०६ गते गठन गरी उक्त समितिले काम शुरू गरिसकेको अवस्था छ,’ गृहले भनेको छ, ‘समितिलाई अनुसन्धान कार्यमा सहयोग गर्नु हुन गृह मनत्रालय सबैमा अनुरोध गर्दछ ।’

तपाईको प्रतिक्रिया