शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – यहि जेठ २ गते सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्नका लागि कतिपय खाडी देश र बौद्ध धर्मावलम्बीहरूको बाहुल्य रहेका मुलुकका वायुसेवाहरूले चासो देखाएको भएपनि अन्तिम निर्णय भइ सकेको छैन ।

हाल त्यहाँ कुवेतको जजिरा एअरवेजले हप्ताको तीन उडान गर्ने निश्चित भए अनुसार उद्घाटनको दिन २ जेठदेखि उडान शुरु गरिसकेको छ । एशियाली विकास ब्याङ्कको ऋण एवं ओपेक फन्ड र नेपाल सरकार सहितको लगानीमा करिब साढे नौ अर्ब रुपियाँ खर्च गरेर उक्त विमानस्थल निर्माण गरिएको थियो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले विभिन्न देशका वायुसेवाहरूले उडानका लागि चासो देखाएको र आगामी दशैँसम्ममा सो विमानस्थलबाट दैनिक रूपमा दशदेखि १५ वटा उडान हुने अपेक्षा आफूहरूले राखेको बताए । ‘कुवेतको जजिरा एअरलाइन्सले हप्ताको तीन दिनका लागि उडानको तालिका नै सार्वजनिक गरिसकेको छ,’ उनी भन्छन्, ‘मलाई लाग्छ नेपालका जुन वायुसेवाहरू छन्, नेपाल वायुसेवा निगम, हिमालय एअरलाइन्स र बुद्ध एअरलाइन्सले यहाँबाट अन्तर्राष्ट्रिय उडान गर्न चाहनुभएको अवस्था पनि छ ।’

एअर अरेबिया, भियतनाम, कम्बोडिया, थाइल्याण्डको स्माइल, ओमानको सलाम एअर लगायतका विभिन्न देशका एअरलाइन्सहरूको संस्थाले पनि करिब दुई साताअघि छलफल गरेको थियो । महाप्रबन्धक दाहालले भने, ‘मलाई लाग्छ अब एक दुई महिनाभित्र उडान अवतरणका लागि स्वीकृति लिन चाहनुहुन्छ ।’

धेरै कम्पनीहरूले चासो राखेर सोधिरहेको भएपनि लिखित प्रस्ताव हालसम्म पठाएका छैनन् ‘नेपालमा उडान गरिरहेका अधिकांश विमान कम्पनीले हामीसँग उडानबारे सोध्ने काम भने गरेका छन्,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णले भने । उनका अनुसार श्रीलङ्काको एउटा सहित केही कम्पनीले उडानका लागि विमान लिएर आउने बताएका थिए । तर त्यसबारे हालसम्म औपचारिक प्रस्ताव नआएको उनको भनाई छ ।

खाडी क्षेत्र जाने कामदार र बौद्ध धर्मावलम्बीलाई आकर्षित गर्ने लक्ष्य
मूल रूपमा खाडी क्षेत्रमा कार्यरत कामदार र धार्मिक पर्यटन अन्तर्गत लुम्बिनीको भ्रमण गर्न इच्छुक बौद्ध धर्मावलम्बीलाई आकर्षित गर्ने लक्ष्य उक्त विमानस्थलले लिएको बताइन्छ ।

महाप्रबन्धक दाहाल भन्छन्, ‘मुख्य रूपमा खाडी क्षेत्रकै विमान कम्पनीहरूको चासो हो यस क्षेत्रमा । त्यसबाहेक बुद्ध धर्मावलम्बी भएका देशहरूको मुख्य आकर्षण यो विमानस्थल बन्ने हाम्रो अपेक्षा हो ।’

चासो देखाउने विभिन्न वायुसेवा कम्पनीमध्ये साउदी अरेबियाको एअर अरेबिया पनि एक हो जसको तयारी अरू एअरलाइन्स भन्दा अलिकति अघि बढिसकेको पाइएको छ । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले उक्त विमानस्थलबाट उडान गर्नेबारे ठोस प्रस्ताव नगरिसकेको अधिकारीहरू बताउँछन् ।

वायुसेवालाई आकर्षण गर्न के गर्न लागिएको छ ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक दाहालले विदेशी विमान कम्पनीहरूलाई नेपालको दोस्रो विमानस्थलमा आकर्षित गर्नका लागि विभिन्न नीतिगत सुविधाहरू दिन लागिएको सुनाए ।

‘एक वर्षसम्म अवतरण शुल्क, सुरक्षा शुल्क र सञ्चार शुल्कहरू शत प्रतिशत छुट दिने प्रस्ताव हाम्रो नागरिक उड्डयन प्राधिकरणले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेस गरिसकेको छ । मलाई लाग्छ त्यो शत प्रतिशत छुटको व्यवस्थाबारे निर्णय हुन्छ । यो हुँदा पनि अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले यहाँ सहुलियतमा अवतरण गर्ने र पार्किङ गर्ने अवसर पाउँछन् ।’

दाहालले भारतको उत्तर प्रदेशका श्रमिक एवं पर्यटकहरूले पनि नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्नसक्ने अपेक्षा सुनाए । अन्तर्राष्ट्रिय उडानका लागि नेपालले हाल सिमराहुँदै भारतले उपलब्ध गराएको एकमात्र हवाई प्रवेश मार्गको प्रयोग गर्दै आएको छ । –बीबीसीको सहयोगमा

तपाईको प्रतिक्रिया