शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – नेपालको पाठ्यक्रममा आधारित कक्षा १० सम्म अध्यापन गर्दै आएको जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेशनल स्कुलले आगामी दिनमा नेपाली विद्यार्थीका लागि कक्षा ११ र १२ मा पनि पढाइ सञ्चालन गर्ने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको भर्चुअल उपस्थितिमा शुक्रबार आयोजित सो विद्यालयको १०औँ अभिभावक दिवसका अवसरमा उक्त जानकारी दिइएको हो । मन्त्री पौडेलले जापानमा रहेका नेपालीहरुले अन्य क्षेत्रका साथै शिक्षा क्षेत्रमा पनि योगदान गर्दै आएकामा प्रशंसा गरे । उनले एभरेष्ट स्कुलले विदेशमा रहेर नेपालको शिक्षा क्षेत्रमा थप योगदान दिई नेपाली विद्यार्थीका लागि थप सेवा दिन सकोस् भनी कामना गरे ।

भौतिक र अनलाइन दुवै माध्यमबाट आयोजित सो कार्यक्रममा जापानस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत अम्बिका जोशीले विद्यालयले निरन्तर प्रगति गर्दै नेपाली र विश्वस्तरका विद्यार्थीका लागि उदाहरणीय रूपमा गुणस्तरीय शिक्षा दिन सक्षम भएको बताए ।

कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष तथा प्रिन्सिपल डा.भुपालमान श्रेष्ठ र प्रदीप थापा, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का अध्यक्ष डिके ढुङ्गानालगायतको सहभागिता थियो । सो विद्यालयले गत वर्षको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) का १९ विद्यार्थीलाई जापानबाटै परीक्षा दिलाएको थियो । विद्यालयमा हाल नेपालका साथै भारत, जापान, संयुक्त राज्य अमेरिकाका गरी ३२५ विद्यार्थी छन् ।

यसमा अधिकांश नेपाली छन् । सो विद्यालयका अध्यक्ष भवन भट्टले विद्यालय गत वर्ष क्याम्ब्रिज इन्टरनेशन स्कुलको कोर्स सञ्चालनका लागि आबद्ध भएको र यस वर्ष जापानको शिक्षा, संस्कृति, खेलकुद, विज्ञान र प्रविधि मन्त्रायलबाट पनि माध्यमिक विद्यालयका लागि मान्यता पाएको जानकारी दिए । -रासस

तपाईको प्रतिक्रिया