मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

काठमाडाैं – जापानमा नेपाली श्रमिकका लागि रोजगारीको अवसर दिन जापानको निजी क्षेत्रले तालिम तथा सहजीकरणको काम सुरु गरेका छन् । ३ वर्षअघि जापान र नेपालबीच भएको ‘स्पेसिफाइड स्किल वर्कर (एसएसडब्लू) अन्तर्गत भएको सहयोग समझदारीलाई कार्यान्वयन गर्न नेपालमा कार्यालय स्थापना गरेर सीप तालिम कार्यक्रम सुरु गरिएको हो ।

जापानको अध्यागमन विभागमा दर्ता भई टोकियोमा कार्यालय रहेको ह्युमन आइ कम्पनीले एसएसडब्लूअन्तर्गत रोजगारीका लागि जापान जाने केयरगिभरको तालिम र परीक्षाको तयारी गरिहेको छ । २ देशबीच भएको समझदारीअनुसार कार्यविधि बनाउन नेपाल पक्षबाट ढिलाइ भए पनि टोकियोमा कार्यालय रहेको ह्युमन आइ कम्पनीले नेपाली श्रमिक लैजान सहजीकरण गर्न थालेको हो । जापानी लगानीमा २ वर्षअघि नेपालमा स्थापना भएको स्किल एजुकेसन एन्ड वर्क एकेडेमी (सेवा नेपाल) ले जापानका रोजगारदाताको आवश्यकता अनुसारको सीप तथा भाषा कार्यक्रम सञ्चालन गरेर नेपाली केयरगिभर लैजान सहजीकरण गर्ने जनाएको छ ।

ह्युमन आइ कम्पनीका अध्यक्ष इचिरो किरिउले जापानले विभिन्न १२ देशहरुबाट १४ वटा क्षेत्रमा ६ वर्षभित्र नेपालीसहित ३ लाख ४५ हजार १५० जना विदेशी दक्ष जनशक्ति जापान भित्र्याउने लक्ष्य राखेको बताए । नेपाली केयरगिभरलाई जापानमा रोजगारी दिन सहजीकरणका लागि नेपाल आएका अध्यक्ष किरिउले सरकारी स्तरमा नेपाल र जापानले सन् २०१९ मार्च २५ मा औपचारिक रुपमा जनशक्ति जापान पठाउने सहमति गरेको जनाउँदै ह्युमन आइले जापानमा ३ हजार ३ सय कामदारमध्ये ५०० भन्दा बढी नेपालीलाई रोजगारीका लागि सहजीकरण गरेको जानकारी दिए ।

“नेपालीहरु मिजासिला, सेवा भावना भएका र सबैसँग सहकार्य गर्न सक्ने भएकोले नर्सिङ केयरमा चाहिने जनशक्तिको अभाव पूरा गर्न नेपालमा तालिम केन्द्र सञ्चालन गरिएको हो,” किरिउले भने, “जापानका रोजगारदातालाई रोजेको र विशेष सीपको आवश्यकता पर्ने भएकाले जापानी भाषामै सीप सिक्ने वातावरण बनाउन सन् २०२० मा सेवा नेपाल नामक कम्पनी दर्ता गरी नेपाली तथा जापानको केयरगिभरको तालिम दिइरहेका छौं ।” ह्युमन आइ जापान सरकारको अध्यागमन विभागमा दर्ता भएको श्रमिक प्लेसमेन्ट गर्ने संस्था हो ।

जापानको घट्दो जन्मदर र बढ्दो संख्यामा रहेका वृद्धवृद्धाहरुको हेरचाहको लागि भाषा तथा सीप तालिम लिई परीक्षामा उत्तिर्ण भएका इच्छुक नेपालीहरुलाई जापानमा निःशुल्क रोजगारी दिन इच्छुक जापानी टोलीले हालै नेपाल भ्रमण समेत गरेको छ । बालाजुको माछापोखरीमा रहेको तालिम केन्द्र सेवा नेपालका सञ्चालक रामप्रसाद शर्माले जापानी भाषामै सीप तालिम लिएर जापानमा रोजगारी प्राप्त गर्नेहरुको संख्या दिनानुदिन बढ्दै गएको बताए । उनले केयरगिभरमा रोजगारीका लागि जापानमा रहेका श्रमिकले परिवार लैजान सक्ने वा पिआर पाउन सक्नेसम्मको रोडम्याप तयार गरी जापानमा रोजगारी गर्न सहयोग गर्ने जनाएका छन् ।

जापानी टोलीले भ्रमणको क्रममा नेपाल सरकारको श्रम मन्त्रालय, वैदेशिक रोजगार महाशाखा, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड लगाएतका निकायका प्रतिनिधिसँग भेट गरी जापानमा बढ्दै गइरहेको नेपाली केयरगिभरको मागका सम्बन्धमा जानकारी गराएको छ । जापानले नेपालसहित ९ राष्ट्रबाट केयरगिभर नर्सिङ क्षेत्रमा ६० हजारभन्दा बढी विदेशी कामदार लैजाने जनाएको छ । -कारोबार दैनिकबाट

तपाईको प्रतिक्रिया