शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो – युक्रेनमाथि रुसी आक्रमण जारी रहेका बेला जापान र बेलायतले रक्षा सम्झौता गरेका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसन र जापानी फुमियो किशिदाबीच डाउनिङ स्ट्रिटमा भेट गरेपछि रक्षा सम्झौता भएको हो ।

जापानसँग रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर गरेपछि बेलायती बोरिस जोन्सनले ‘तानासाही र जबर्जस्त शक्तिहरू’लाई रोक्न मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । जोन्सन र उनका जापानी समकक्षी फुमियो किसिदाबीच लन्डनको डाउनिङ स्ट्रिटमा भएको भेटवार्तामा दुई देशबीच संयुक्त सैनिक अभ्यास र दैवी प्रकोप राहत उद्धार कार्यमा पनि सहकार्य हुने घोषणा भएको छ ।

युरोपेली मुलुक बेलायत र जापानबीच भएको यस प्रकारको यो पहिलो सम्झौता हो । दुवै प्रधानमन्त्रीले युक्रेनमाथि भएको रुसी आक्रमणको आलोचना गरेपछि यो सम्झौता भएको हो । यस सम्झौताले गत वर्ष प्रकाशित बेलायत सरकारको ‘प्रतिरक्षा तथा विदेश नीति एकीकृत समीक्षा’लाई पनि अनुसरण गरेको छ । त्यसले हिन्द-प्रशान्त क्षेत्र तर्फको झुकावको घोषणा गरेको थियो ।

किसिदा र जोन्सनबीचको छलफल रुस माथि कसरी दबाब दिने र आफ्ना गठबन्धनलाई रुसको तेल र ग्यासमाथि कम निर्भर हुन कसरी सहयोग पुयाउने भन्नेबारे पनि केन्द्रित रहेको बीबीसीले उल्लेख गरेको छ । शक्तिशाली औद्योगिक राष्ट्रहरूको समूह जी-७ को सदस्य रहेको जापानले युक्रेनमाथि भएको आक्रमणको विरोधमा रुसमाथि प्रतिबन्ध लगाउनुका साथै किभमा गैरघातक सैन्य सामग्री पठाएको थियो ।

तपाईको प्रतिक्रिया