शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारका दिन ओपिडी सञ्चालन गर्ने वा नगर्ने भन्ने विषयमा बिहीबार बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ ।

बैठकमा ठूला अस्पतालका निर्देशक, स्वास्थ्यमा क्रियाशील ट्रेड यूनियन र पेशागत संघ,संगठनहरुका प्रतिनिधि सहभागी भएका थिए ।

सरकारले मन्त्रिपरिषद्को वैशाख १३ गतेको निर्णयानुसार जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदाको निर्णय गरेको छ ।

बैठकका बारेमा बोल्दै मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निष्कर्षमा पुगेपनि ओपिडी सेवा आइतबार चलाउने वा नचलाउने भन्ने टुंगो नलागेको जनाए ।

उनले भने, ‘विगतमा सार्वजनिक बिदाको दिनमा स्वास्थ्य सेवा बन्द हुने गरेको छैन । आकस्मिक सेवा निरन्तर चल्छ ।आइतबार ओपिडी कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा ट्रेड युनियनका संघ संगठनहरुको सचिवालय बनेको छ । सचिवालयसँग बसेर मन्त्रालयले आवश्यक निर्णय लिन्छ । थप छलफल हुन बाँकी छ ।’

नेपाल चिकित्सक संघले भने सरकारको यो निर्णयलाई स्वागतयोग्य भन्दै बिदा दिनुपर्छ भन्ने पक्षमा छ । दिनरात नभनी बिरामीको सेवामा खटिने चिकित्सकहरु आफू पनि मानसिक तथा शारीरिक तनावमा रहनु पर्ने भएकाले सरकारको यस निर्णयले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्नका लागि सहयोग पुग्ने संघको तर्क छ ।
तपाईको प्रतिक्रिया