शनिबार, जेठ ०७, २०७९
Saturday, May 21, 2022

टोकियो – नेपालमा स्थानीय निर्वाचनको मिति नजिकिएसँगै जापानबाट नेपाल जानेको सङ्ख्या बढेको छ । यही वैशाख ३० गते निर्वाचन हुने भएपछि नेपाल चुनावमय बनिरहेका बेला जापानबाट नेपाल जानेको सङ्ख्या पनि बढेको हो ।

जापानमा बस्दै आएकाहरू पनि स्थानीय चुनावको विभिन्न पदमा उम्मेदवार बनेका छन् । जापानमा विद्यार्थी भिसामा आएर पिएचडी गरेका डा. सरोज कँडेल चुनावकै लागि नेपाल गए । उनी नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च पूर्वी एशिया क्षेत्रीय महादेशीय कमिटीका अध्यक्षसमेत हुन् । उनका बुबा गोविन्द्रप्रसाद कँडेल चितवनको राप्ति नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका छन् । बुवा अनि एमालेको प्रचारप्रसारका लागि आफू नेपाल गएको कँडेलको प्रतिक्रिया छ ।

प्रवासी नेपाली मञ्च, जापानका अध्यक्ष सुरेश केसीलगायतको टोली पनि नेपाल गएको छ । प्रवासी नेपाली मञ्च जापानको कान्तो क्षेत्रीय कमिटीबाट सौजन्य गरिएका सूर्य अंकित ७ हजार ७ सय झण्डा काठमाडौँमा विशेष कार्यक्रमबीच हस्तान्तरण गरिएको अध्यक्ष केसीले बताए । एमालेको तर्फबाट जापानमा बस्दै एका महेन्द्र कुमार श्रेष्ठ (हुवास गाउँपालिका अध्यक्ष उम्मेदवार पर्वत) र अनन्त भण्डारी (चन्द्रकोट गाउँपालिका वाड नं ७ वाड अध्यक्ष उम्मेदवार गुल्मी) स्थानीय निर्वाचनमा उम्मेदवार बनेका केसीको भनाई छ ।

अहिलेको स्थानीय चुनाव र केही महिनापछिको प्रतिनिधिसभा निर्वाचनसमेतलाई लक्षित गर्दै उनीहरूले चुनावी गीत सार्वजनिक गरेका छन् । प्रवासी नेपाली मञ्चले नेकपा एमालेको पक्षमा मतदानको अपिल गर्दै ‘समृद्ध नेपाल : सुखी नेपाली’ शीर्षकको गीत तयार पारेको हो । काठमाडौँमा एक कार्यक्रमबीच नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, प्रवास इन्चार्ज डा राजन भट्टराई, प्रवासी नेपाली मञ्चकी सचिवालय सदस्य डा. विमला भण्डारीलगायतले गीत विमोचन गरेका थिए ।

गीतको म्युजिक भिडियोमा शान्ता चौधरी, कोमल ओली, नवराज सिलवाललगायत एमाले सांसदहरूसहित कलाकारहरूले अभिनय गरेका छन् । त्यस्तै नेकपा एमालेको प्रवासको भातृ संगठन प्रवासी नेपाली मञ्च जापानले ‘यसपालि हजुरको छाप पनि सूर्यमै’ बोलको चुनावी गीत सार्वजनिक भएको छ ।

यस्तै प्रवासी नेपाली मञ्च जापानका केन्द्रीय सदस्य महेन्द्रकुमार अधिकारीले पनि चुनावी गीत सार्वजनिक गरेका छन् । उनले गुल्मीको मुसिकोट नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार जीवन खरेललाई जिताउन आग्रह गर्दै गीत सार्वजनिक गरेका हुन् ।

जापानमा नेपाली कांग्रेस निकट जनसम्पर्क समिति जापानले पनि स्थानीय निर्वाचनका लागि सदाझैँ आवश्यक सहयोग गरी रहेको बताइएको छ ।निर्वाचनको प्रचारप्रसारको लागि केन्द्रले जनसम्पर्क समितिहरूलाई समेटेर समिति नै बनाइएको जनसम्पर्क समिति जापानका सभापति रोशन केसीले बताए । नेपालीहरू बाध्यताले विदेशमा भएपनि मातृभूमिमा हुने हरेक निर्वाचनमा सबैको चासो रहने उनको भनाई छ ।

यदाकदा विदेशमा रहेकाले उम्मेदवार बन्न नपाउने भनिएपनि हरेक जनप्रतिनिधि चुन्न पाउने नेपालीले चुनिन पनि पाउनु पर्ने उनको धारणा छ । निर्वाचनमा नेपाली पासपोर्ट भएका उम्मेदवार बन्न पाउनु अधिकार भएको केसी बताउँछन् ।

केही समयदेखि जापान रहँदै आएका प्रकाश भण्डारी स्थानीय निर्वाचनमा शारदा नगरपालिकामा नेपाली काङ्ग्रेसको तर्फबाट मेयर पदमा उम्मेदवार बनेका छन् । उनी नेपाली कांग्रेस सल्यानका जिल्ला सचिव पनि हुन् । उनी विगतमा जापान रहँदै आएका र जापानमा भएका विभिन्न कार्यक्रममा उनको उपस्थित रहने गरेको थियो ।जापानमा नेकपा माओवादी केन्द्र सम्बद्ध जन प्रगतिशील मञ्च, जापानले नेपालमा हुन लागेको स्थानीय निर्वाचनमा व्यापक सहयोग गरिएको बताइएको छ । आवश्यकता अनुसार आ-आफ्ना क्षेत्रमा टि-सर्ट, झण्डा आदी पठाइएको जन प्रगतिशील मञ्च जापानका अध्यक्ष भवानी पन्तले बताए । चुनाव प्रचारप्रसारका लागि जापानबाट व्यापक कार्यकर्ता नेपाल गएका र अझै जाने क्रममा रहको पन्तको भनाई छ ।

जन प्रगातिशील मञ्च जापानले चुनावकै प्रचारप्रसारको लागि हालै मात्र चुनावी गीत पनि निकालेको छ । ‘आयो, आयो माओवादी हेर’ बोलको सो गीत चेतन गोतामे र टिका पुनले गाएका छन् । उक्त गीतमा जन प्रगतिशील मञ्च जापानका केन्द्रीय सदस्य राम खत्री र दिलीप कँडेलको शब्द संकलन रहेको छ ।

कोभिड-१९का कारण यतिबेला एयरलाइन्सहरू पनि कम सञ्चालन भएको र नेपाल जाने नेपालीको सङ्ख्या पनि अधिक भएकोले टिकट पाउन गाह्रो भएको छ । टिकट पाइएपनि मूल्य आकासिएको छ । स्थानीय निर्वाचनको परिणामले आफ्नो गाउँ ठाउँको विकासमा प्रत्यक्ष सरोकार राख्ने हुँदा यति बेला जापान मात्र होइन, विश्वभर बसेका नेपालीहरूको चासो स्थानीय निर्वाचनमा छ ।

कोही नेपाल गएर निर्वाचन लडिरहेको अवस्थामा विदेश बसेका नेपालीहरूले चुनावमा उम्मेदवार बन्न पाउँछन् त भन्ने प्रश्नसमेत उठेको छ । सो विषयमा जापानमा रहेका अन्तर्राष्ट्रिय अधिवक्ता एवं जनसम्पर्क समिति जापानका पूर्व अध्यक्ष डा बलराम श्रेष्ठसँग प्रतिक्रिया लिँदा नेपालको संविधान को धारा २९१ मा यसको व्याख्या गरेको बताउँछन् ।

संविधानमा ‘विदेशको स्थायी आवासीय अनुमति पत्र लिएको नेपालको नागरिक यस संविधान बमोजिम निर्वाचन, मनोनयन वा नियुक्ति हुने पदमा निर्वाचित, मनोनीत वा नियुक्तिको लागि योग्य हुने छैन,’ भनिएको छ । तर यस्तो विदेशको स्थायी आवासीय अनुमति पत्र त्यागेको व्यक्तिलाई कम्तीमा ३ महिनाको अवधि व्यतीत भए पछि त्यस्तो पदमा निर्वाचित, मनोनीत वा नियुक्त गर्न वाधा पर्ने छैन भनिएको डा. श्रेष्ठ बताउँछन् ।

जापानमा अध्ययन, व्यवसाय एवं रोजगारी गरिरहेका जो कोहीले नेपालमा हुने जुनसुकै निर्वाचनमा भाग लिन पाउने र एइजु भिसा पनि स्थायी अनुमति नभएकोले जापानमा भोटिङ राइट नहुने हुँदा नेपालमा उम्मेदवारी हुन पाउने उनको तर्क छ । जापानकै पासपोर्ट लिएकाले भने नेपालमा हुने कुनै पनि निर्वाचनमा उम्मेदवार हुन नपाउने डा. श्रेष्ठको भनाई छ ।

तपाईको प्रतिक्रिया