काठमाडौं – नेकपा माओवादी केन्द्रले आसन्न स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनबीच अझै धेरै कुरामा सहमति जुटिनसकेको बताएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज पत्रकार सम्मेलन गर्दै माओवादीले निर्वाचनका लागि ६० प्रतिशत कुरा मिले पनि ४० प्रतिशत अझै नमिलेको स्पष्ट पारेको हो ।
‘हामी संविधानको रक्षाका लागि गठबन्धन गरेका हौं । आसन्न स्थानीय तह निर्वाचनमा हाम्रो तालमेलले गठबन्धन सफल भएको ठानेका छौं,’ पार्टीका प्रचार प्रसार विभाग प्रमुख कृष्णबहादुर महराले भने, ‘अहिलेको कुरा गर्ने हो भने गठबन्धनबीच ६० प्रतिशत कुरा मिलेको छ । ४० प्रतिशत कुरा आजै बेलुकासम्म मिल्छ । मनोनयन फिर्ता लिने समयसम्म पक्कै मिल्छ,’ उनले भने । उनले सत्ता गठबन्धन र पार्टीभित्रै पनि केही कुरा नमिलेको बताए ।