शुक्रबार, मंसिर २२, २०८०
Friday, December 8, 2023

काठमाडाैं – एमानुएल माक्रोँ प्रतिद्वन्द्वी मारिन ल पेनलाई पराजित गर्दै दोस्रो पटक थप पाँच वर्षका लागि फ्रान्सका राष्ट्रपति भएका छन् । यद्यपि माक्रोँद्वारा पराजित पेनले अति दक्षिणपन्थीहरूको सबैभन्दा बढी मत प्राप्त गर्न सफल भइन् ।

माक्रोँले ५८ प्रतिशत मतसहित जित हासिल गरेका हुन् । त्यो भनेको अपेक्षा गरिएको भन्दा ठूलो अन्तर हो । आइफल टावरको फेदमा उदारवादी माक्रोँले हर्षोल्लासका साथ आफ्ना समर्थकहरूलाई अब चुनाव सकिएकाले आफू सबैका लागि राष्ट्रपति बनेको बताएका छन् ।

उनकी प्रतिद्वन्दी ल पेनले पराजित भए पनि आफूले पाएको मतले जितेको बताइन् । उनले आफ्ना समर्थकहरूलाई आफूहरूका राष्ट्रिय र्‍यालीहरूले आफ्नो विचारलाई नयाँ उचाइमा पुर्‍याएको बताइन् । तर उनका उग्रदक्षिणपन्थी प्रतिस्पर्धी एरिक जेम्डुरले ल पेन पनि उनका पिताजस्तै असफल भएको बताएका छन् ।

उनले भने, ‘ल पेनको नामले हारेको यो आठौँ पटक हो ।’ आफ्नो विजयपछिको मन्तव्यमा माक्रोँले ‘उग्रदक्षिणपन्थीलाई मतदान गर्ने निर्णय गर्ने देशवासीको आक्रोश र असहमतिलाई पत्ता लगाउनैपर्ने’ बताएका छन् ।

उनले त्यो काम अब आफू र आफू वरपरका व्यक्तिहरूको भएको पनि बताए । माक्रोँको विजयले युरोपेली नेताहरूलाई राहत भएको छ । उग्रदक्षिणपन्थी उम्मेद्वारले शृङ्खलाबद्ध रूपमा युरोपेली सङ्घ ईयू विरोधी नीतिहरूको वकालत गरिरहेकाले उनको विजयले उनीहरूलाई राहत मिलेको हो ।

फ्रेन्च राष्ट्रपतीय निर्वाचनमा करिब ७२ प्रतिशत मत खसेको बताइएको छ । त्यो भनेको राष्ट्रपतीय निर्वाचनमा सन् १९६९ यताको सबैभन्दा कम मतदान हो । -बीबीसी

तपाईको प्रतिक्रिया