बिहिबार, मंसिर १४, २०८०
Thursday, November 30, 2023

टोकियोसंसारमा विवाह समारोह भन्दा महत्त्वपूर्ण घटना सायद कुनै छैन । शुभकार्य र तिनको विधि विभिन्न जाति तथा समुदाय अनुसार फरक पर्छ । विवाह गर्ने परम्परा र प्रक्रियामा समेत समानता छैन । जापानमा पनि विवाह गर्ने आफ्नो छुट्टै पुरातन संस्कार र परम्पराहरू छन् । 

तर पछिल्ला वर्षमा यो परम्परा बदलिँदै गएको छ । जापानी विवाह समारोहमा मात्रै होइन, विवाहको भोजभतेरमा पनि परिवर्तन आएको छ । आफ्नै संस्कृतिको सम्मान गर्न उत्सुक हुने जापानीहरुको विवाह संस्कार बदलिँदो समयसँगै पश्चिमीकरण र सरलीकृत भएको पनि मान्न सकिन्छ । समकालीन जापानी विवाहहरू विभिन्न तरिकामा मनाइन्छ । 

परम्परागत रूपमा, धार्मिक विवाह समारोह शिन्टो शैलीमा मन्दिरमा आयोजित गरिन्छ । जोडी परम्परागत किमोनोमा सजिएका हुन्छन् । समारोहमा, दम्पती शुद्ध हुन्छन्, साके (जापानी रक्सि) पिउने गर्दछन्, दुलहाले दुलहीप्रति सदैभ प्रतिबद्ध हुने वचन दिन्छन् र कामी (शिन्टो देवताहरू)लाई प्रतीकात्मक प्रसाद चढाउछन् । समारोहपछि, दम्पतीले सबै अतिथिहरूलाई स्वागत गर्दछन् । 

अहिले जापानीको विवाहको शैलीमा ठूलै फेरबदल आएको छ । जापानी विवाहहरूमा परम्परागत जापानी र सांस्कृतिकसंगै पश्चिमी प्रभावहरूको मिश्रण छन् । आजकल, शिन्टो पुजारीले कुनै होटलमा विवाह गर्ने चलन बनेको छ । धेरै दुलहीहरूले परम्परागत किमोनोको सत्ता सेतो गाउन लगाउन रोज्ने गर्छन् । दम्पती इसाई नभए पनि केही धार्मिक समारोहहरू क्रिश्चियन शैलीमा अझ क्रिश्चियन चर्चमा आयोजित हुन थालेका छन् । केक काट्ने, औंठीको आदानप्रदान गर्ने, हनीमून मनाउने चलन अंगीकृत तत्वहरू हुन् । अझ  केहि जापानी जोडीहरूले आफ्नो विवाह देश बाहिर आयोजना गर्ने चलन पनि सामान्य हुन थालेको छ । 

हालैका दशकमा परम्परागत विवाह कम लोकप्रिय बन्दै गएको छ । विवाहमा आफ्ना धर्मसंस्कृति कटौती गर्दै विभिन्न पश्चिमी शैली अंगालेर धुमधामसित मनाउने प्रवृत्ति बढेको छ ।

तपाईको प्रतिक्रिया