शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौँ – दक्षिणकाली नगरपालिका चाल्नाखेल–१ निवासी ३५ वर्षीय हरिप्रसाद बुढाथोकीका दुवै हातले काम गर्दैनन् । उहाँका खुट्टा पनि त्यति सबल छैनन् । सामान्य हिँडडुल गर्न पनि उहाँलाई कठिन हुुन्छ तर उच्च शिक्षा अध्ययन गरेर नोकरी गर्ने उत्कर्ष इच्छा छ ।

त्यसैले दाहिने खुट्टाका सहाराले लेख्न सक्ने बुढाथोकी शुक्रबारदेखि सुरु हुने २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी हुनुहुँदैछ । उहाँलाई बोल्न पनि गाह्रो छ । निकै कठिनसाथ उहाँले भन्नुभयो, “क्याम्पस पढेर जागिर खाएर आफ्नो खुट्टामा उभिन्छु ।”

जन्मँदै शारीरिक अपाङ्गता भएका बुढाथोकीले कक्षा ४ सम्मको पढाइपछि बिरामीका कारण पढाइ छाड्नुभयो । २०७० सालमा चाल्नाखेल आधारभूत विद्यालयमा पुनः भर्ना भई कक्षा ८ पूरा गर्नुभयो । टौदह राष्ट्रिय माविमा कक्षा ९ मा भर्ना त हुनुभयो तर घरबाट झण्डै तीन किलोमिटर टाढाको विद्यालयमा आउजाउ गर्न निकै कठिन भयो । पढाइ छाड्नुप-यो ।

गत असारमा फर्पिङको शिखरापुर खुला विद्यालयमा कक्षा १० मा भर्ना भई अध्ययनलाई निरन्तरता दिनुभएका बुढाथोकी बिहीबार अङ्ग्रेजी विषयको तयारीमा जुट्नुभएको थियो । वैशाख ९ गते एसईईको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ । खुट्टाले लेख्नुपर्ने समस्या भएकाले बुढाथोकी राम्ररी बोल्न सक्ने भइदिएको भए सहयोगीलाई राखेर परीक्षा दिलाउन सकिन्थ्यो भन्दै शिखरापुर खुला विद्यालयका प्रधानाध्यापक विनोद महतले बोलीका कारण त्यो सम्भव नभएको बताउनुभयो । उहाँको सतीखेलस्थित अरुणोदय माविमा परीक्षा केन्द्र तोकिएको छ । केन्द्राध्यक्षको समेत जिम्मेवारी पाउनुभएका सो माविका प्रधानाध्यापक रामकाजी बस्नेतले अपाङ्गता भएका विद्यार्थीको प्रकृति हेरी परीक्षाका बखत अलग कोठामा वा सामान्य विद्यार्थीका साथमा राखिने बताउँदै त्यस्ता विद्यार्थीलाई थप डेढ घण्टा उपलब्ध गराइने बताउनुभयो ।

यस्तै ५२ वर्षीय हरिप्रसाद आचार्य पनि २०७८ सालको एसईईका परीक्षार्थी हुनुहुन्छ । २०४३ सालमा एसएलसी टेस्ट परीक्षा उत्तीर्ण गरेपछि घाँस काट्ने क्रममा भीरबाट लडेर कम्मर नचलेपछि माध्यमिक तह पूरा गर्ने इच्छा तुहियो । वीर अस्पतालको न्युरो मेडिसिन शाखामा कार्यरत आचार्यले भन्नुभयो, “मसरहका साथीहरू केही वर्षअघि एसईईको प्रमाणपत्र पेस गरेर बढुवा भए । बढुवा हुने आशमा एसईईमा सहभागी हुँदैछु ।”

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४, फाखेलका छिरिङ बलका दुवै खुट्टा चल्दैनन् । ह्विलचियरमा बसेर उहाँ एसईईमा सम्मिलित हुन  लाग्नुभएको छ । अनलाइन माध्यम पठनपाठन गर्नुभएका ३३ वर्षीय बलको पनि उच्च शिक्षा अध्ययन गर्ने इच्छा छ । शिखरापुर खुला विद्यालयका संयोजक ललिता लामिछाने घिमिरेले खुला विद्यालयबाट १८ देखि ५२ वर्षसम्मका ४५ परीक्षार्थी एसईईमा सहभागी हुन लागेको बताउँदै अपाङ्गता भएका चार जना रहेको बताउनुभयो । शिखरापुर सामुदायिक क्याम्पसका प्रमुख निरोज श्रेष्ठले खुला विद्यालयबाट एसईई पूरा गरेका विद्यार्थीलाई क्याम्पसले स्नातक तहसम्म पूर्ण रूपमा निःशुल्क पठनपाठनको व्यवस्था गरिदिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया