Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

नेपाली पात्रो अनुसार नयाँ वर्ष २०७९ सुरु भएको छ । यो वर्ष हरेक हिसाबले नेपाल र नेपालीका लागि ऐतिहासिक वर्ष साबित हुने अपेक्षा गर्न सकिन्छ । समग्रमा भन्नुपर्दा गएको वर्ष खासै सुखद रहेन । कोभिडको असरले छोडेन, राजनीतिक खिचातानीले गर्दा मुलुकमा विकासका अपेक्षित कामहरु पूरा हुन सकेनन् । ठूलो आशा र भरोसा गरिएको ठूला राजनैतिक दलहरुबीचको किचलोले गर्दा जनतामा चरम निराशा छायो । मुलुकको अर्थतन्त्र निकै कमजोर बन्न पुग्यो । समग्र आर्थिक क्षेत्र चलायमान बन्न सकेनन् । वैदेशिक रोजगारीमा गएकाहरुबाट भित्रिने गरेको रेमिट्यान्समा अस्वभाविक ढंगले ह्रास आयो । बितेको वर्षमा यी सबै घटनाक्रमहरुबाट पाठ सिकेर यो वर्षलाई उन्नत, सार्थक र उत्कृष्ट वर्ष बनाउन आ-आफ्नो ठाउँबाट हामी सबैको परिणाममुखी योगदान अपेक्षित छ ।

कोभिडको नकारात्मक प्रभावबाट लामो समयदेखि ग्रसित जनजीवन अब बिस्तारै सामान्यीकरण हुँदै गएको सन्दर्भ एउटा सुखद पक्ष हो भने यो वर्ष देशमा तीनै तहका महत्वपूर्ण निर्वाचन हुँदैछन् यो अर्को महत्वपूर्ण पाटो हो, यसले आफैमा दुरगामी अर्थ राख्दछ । गणतन्त्र नेपालको स्थापना पछि बनेको नेपालको संबिधान २०७२ ले ब्यवस्था गरेअनुरुपको संघीय संरचना र सो बमोजिमको स्थानीय तह, प्रदेश र संघको गरी हुने तीनै तहको निर्वाचनबाट नयाँ जनप्रतिनिधि निर्वाचित हुँदैछन् । अभ्यास र अनुभवको रुपमा पहिलो कार्यकाल समाप्तीपछिको यस निर्वाचनबाट निर्वाचित हुने जनप्रतिनिधिहरुले नयाँ जोश र जाँगरका साथ मुलुकको समृद्धिमा विशेष भूमिका खेल्ने अपेक्षा गर्न सकिन्छ । त्यसो भएको हुँदा यस महान अभियानमा हामी विदेशमा बस्ने नेपालीहरुले पनि निर्णायक भूमिका निर्वाह गरी संभावित जिम्मेवारी पूरा गर्न सक्नुपर्दछ।

यतिबेला मुलुक आर्थिक संकटको चपेटामा छ । विदेशमा बसेका नेपालीहरुबाट यतिबेला राज्यले निकै ठूलो आशा र भरोसा राखेको छ । डलरमा खाता खोल्न र वैधानिक च्यानलबाट जतिसक्दो धेरै रकम पठाएर राज्यलाई सहयोग गर्न सरकारका जिम्मेवार अधिकारीहरुले अपिल गर्दै आईरहेका छन् । अवैधानिक च्यानललाई निरुत्साहित गरी वैधानिक च्यानललाई प्रोत्साहित गर्न राज्यले हरसंभवका सहजीकरण गर्ने बताउँदै आएको स्थितिमा देशप्रतिको आफ्नो कर्त्तब्य ठानेर हामीले इमान्दार भूमिका निर्वाह गर्‍यौं भने अवश्य पनि देशलाई ठूलो टेवा पुग्न सक्दछ । यस बिषयमा विदेशमा भएका नेपाली समुदायका जिम्मेवार अगुवाहरुको यथोचित ध्यान जानु आवश्यक छ ।

हामी अहिले इतिहासकै एउटा स्वर्णिम मोडमा उभिएका छौं । सकारात्मक आँखाले हेर्ने हो भने नेपाल मात्रै विश्वको एउटा यस्तो भर्जिन देश हो जहाँ चारैतिर संभावनै संभावना मात्र देखिन्छन् । ७० को दशकको उत्तरार्द्धसम्म आईपुग्दा हामीले धेरैथोक भोगिसकेका छौं । अब ८० को दशकलाई शताब्दीकै स्वर्णिम दशक बनाउने तयारीको वर्ष पनि हो, यो । हरेक समयले मानिसलाई मौका दिन्छ । यो वर्षले त्यस्तै मौका लिएर नेपालीमाझ आएको छ । हामी हरेकले मात्रै एउटा काम गरे पुग्छ, त्यो हो हामी असल नागरिक बन्ने आजै प्रण गरौं र यो वर्षलाई असल कार्यसम्पादनका हिसाबले प्रेरणाको वर्षका रूपमा मनाऔं । इतिहासको निर्मम समीक्षा गरौं र भविष्यको सुन्दर योजना बनाएर अगाडि बढौं । नकारात्मक टिकाटिप्पणी, कुण्ठा, गालीगलौज, दोषारोपण, आग्रह-पूर्वाग्रह, धर्ना, बिरोध, आन्दोलन, बन्द, हडताल, चक्काजाम जे-जे गर्नुपर्ने हामीले सबै गरिसक्यौ, अब पुग्यो, त्यसो गरेर कहीं पनि पुगिदैन भन्ने पनि थाहा पायौं र त्यतातिर अब एक सेकेण्ड पनि समय खर्च नगरौं । अब मात्रै सकारात्मक सोच राखौं, हरेक नेपाली असल नागरिक भएर जिम्मेवार बनौं । हामी सबै साँच्चिकै असल नागरिक भयौं भने मात्र खराब मान्छेको हातमा देशको साँचो सुम्पिने काम रोकिनेवला छ । देश किन बनेन भनेर अब अरुतिर धारे हात लगाएर बस्ने दिन गए, आफुले गर्नुपर्ने कर्त्तब्य सबैले इमान्दार भएर गर्‍यौं भने मात्र देश उभों लाग्न बेर लाग्दैन । नयाँ वर्षले हरेक नेपालीलाई असल नागरिक बनेर इमान्दारिताका साथ नयाँ जिम्मेवारी पूरा गर्न सद्बुद्धि दिलाओस्, शुभकामना ।

तपाईको प्रतिक्रिया