काठमाडौं – दक्षिण भारतीय अभिनेता यशको पछिल्लो फिल्म ‘केजिएफ २’ हाल प्रदर्शन भइरहेको छ। विश्वभरबाट फिल्मले राम्रो प्रतिक्रिया मात्रै नभएर बक्सअफिसमा पनि निकै सफलता हासिल गरिरहेको छ। फिल्मले लगातार विभिन्न रेडर्कहरु तोडिरहेको छ।
योसँगै ‘केजिएफ २’ हालसम्म सर्वाधिक कमाइ गर्ने आठौं भारतीय फिल्म बनेको छ। भारतीय फिल्म विश्लेषक मनोजवाला विजयावालले बताएअनुसार फिल्मले छैटौं दिन अर्थात् मंगलबार ५१ करोड ६८ लाख भारतीय रुपैयाँको विश्वव्यापी ग्रस कलेक्सन गरेको छ।
त्यस्तै, फिल्मले पाँचौं दिन ७३ करोड २९ लाख, चौथो दिन १३२ करोड १३ लाख, तेस्रो दिन ११५ करोड ८ लाख र दोस्रो दिन १३९ करोड २५ लाख भारतीय रुपैयाँको विश्वव्यापी कमाइ गरेको छ। गत बिहीबार प्रदर्शनमा आएको फिल्मले पहिलो दिनमा १६५ करोड ३७ लाख भारतीय रुपैयाँको कमाइ गरेको थियो।
केजिएफ २ को हिन्दी भर्जनले छैटौं दिनसम्ममा २३८ करोड भारतीय रुपैयाँको आम्दानी गरेको छ। १४ अप्रिलमा सिनेमा हलमा प्रदर्शनमा आएको यो फिल्मलाई प्रशान्त निलले निर्देशन गरेका हुन्।