शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडाैं – अनअराइभल भिसामा नेपाल आउने विदेशीहरूका लागि विद्युतीय भुक्तानीमा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय वाणिज्य बैंकको एटिएम थपिने भएको छ ।

प्राविधिकहरूमार्फत आजै विमानस्थलको अनअराइभल कक्षमा एटिएम मेसिन जडान हुने विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । ‘यहाँ प्रभु बैंकको एउटा एटिएम मेसिन मात्रै थियो । बीचमा यो मेसिनले मास्टर कार्ड रिड गर्न छाडेपछि समस्या आयो । भिसा कार्ड त रिड गरिरहेको थियो । त्यो पनि रिड गर्न छाडेपछि कार्यालयले सूचना निकालेको हो, अब हामी त्यहाँ वाणिज्य बैंकको एटिएम मेसिन पनि थप्छौं,’ सिटौलाले भने ।

समस्या समाधानका लागि एटिएम, भिसासँगै पेमेन्ट गेटवेमा अरू माध्यम पनि थप गरिने उनले बताए । प्रस्थान कक्षमा पनि राष्ट्रिय वाणिज्य बैंकको एटिएम राखिने उनले बताए । विमानस्थलमा विद्युतीय भुक्तानी प्रणालीमा समस्या देखिएपछि विमानस्थलको अध्यागमन कार्यालयले एक सूचना जारी गर्दै पर्यटकहरूलाई साथमा दुई सय डलर बोक्न आग्रह गरेको छ । हाल विमानस्थलमा एउटा मात्रै एटिएम मेसिन छ ।

तपाईको प्रतिक्रिया