काठमाडाैं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४० ग्राम सुन, म्याकबुक तथा आइफोनसहित एक जनालाई पक्राउ गरेको छ । सोमबार जजिरा एयरको उडानबाट दुबईबाट कुवेत हुँदै काठमाडौं आएका एक व्यक्तिबाट सो सामान बरामद भएको हाे ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठका अनुसार कैलालीको कैलारी गाउँपालिका-८ घर भएका भागदेव कठरिया पक्राउ परेका हुन् । उनको गतिविधि शंकास्पद लागेपछि विमानस्थलको आगमन टनेल गेटबाट प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए । चेक गर्दा उनीबाट १० लाख ४ हजार ८ सय रुपैयाँ बराबरको सामान बरामद गरेको हो ।
३ लाख ४९ हजार ८ सय रुपैयाँ बराबरको ४० ग्राम सुन, एउटा दुई लाख ६० हजार बराबरको म्याकबुक र तीन वटा ३ लाख ९५ हजार बराबरको आइफोन बरामद भएको कार्यालयले जनाएको छ । थप अनुसन्धानको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ ।