काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले राजावादीसँग मिलेर एमाले अध्यक्ष ओलीले आफ्नो असली रुप देखाएको बताएका छन् ।
उनले ओली इतिहाँसकै तानासाह र कम्युनिष्ट विरोधी भएको आरोप पनि लगाएका छन् ।
पूर्वी नवलपरासीको दल्दलेमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विक्षिप्त भएर मिल्नै नहुने शक्तिसँग गठबन्धन गर्न पुगेको भन्दै ओलीको हालत खराब हुँदै गएको बताए ।
उनले नेपाली कांग्रेस र एमाले मिलेर एमसीसी पास गर्न सभामुखलाई हटाउने र ७ वटै प्रदेशमा माओवादीको सरकार ढाल्ने सहमति भएको थाहा पाएपछि रातारात आफूले कांग्रेससँग मिलेर एमसीसी पास गराएको बताए ।
व्याख्यात्क टिप्पणीसहित एमसीसी पास गर्नाले सरकार बाँचेको र हाल गठबन्धन भएको उनको भनाई छ ।
प्रचण्डले महानगर र उपमहानगरमा माओवादीलाई फाइदा हुने गरी आइतबार केन्द्रीय गठबन्धनले निर्णय गर्ने बताए । महानगर र उपमहानगरपालिकामा माओवादीलाई धेरै फाइदा हुने गरी आइतबार गठबन्धनले निर्णय गर्ने उनले दावी गरे ।
गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउँदै उनले आगामी तीन वटै निर्वाचनमा सरकारमा रहेका गठबन्धन दलहरुबीच चुनाबको तालमेल हुने दाबी गरे ।
यो निर्वाचन माओवादीका लागि ठूलो लडाइँ भएको भन्दै प्रचण्डले यो निर्वाचनमा माओवादीले जिते संविधान र गणतन्त्र जोगिने नत्र धरापमा पर्ने बताए ।