काठमाडौं – चैत २७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ राउण्ड गोलीसहित प्रहरीले एक युवतीलाई प्रहरीले नियन्त्रणमा लियो ।
नेपाल एयरलाइन्सको उडानबाट काठमाडौँबाट मलेसिया हुँदै जापानको नारिता जान लागेकी तनहुँको भानु नगरपालिका -७ की २७ वर्षीया सोबिता नेपालीको झोलामा गोली भेटिएपछि प्रहरीले आइतबार पक्राउ गरेको थियो । उनी अहिले चार दिनदेखि प्रहरी वृत्त गौशालाको हिरासतमा छिन् ।
पारिवारिक स्रोतकाअनुसार तीन वर्ष पहिले अध्ययनका लागि जापान पुगेकी सोबिता एक महिनाको बिदामा आएर पुनः फर्किँदै थिइन् । घरबाट बिदा भइसकेकी उनी विमानस्थलमा पनि आफन्तसँग छुटिसकेकी थिइन् । उनलाई विमानस्थलसम्म छाड्न पति सुरज पुगेका थिए । तर विमानस्थलमा जाँचको क्रममा सोबिताको झोलामा इन्सास राइफलको एउटा गोली फेला पर्यो ।
याे पनि : पर्सबाट झिक्न बिर्सिएको सोबिता नेपालीको बयान
विमानस्थल सुरक्षा प्रहरीले पक्राउ गरेर उनलाई तत्कालै गौशाला वृत्तमा बुझायो । ‘सानो लेडिज ब्यागभित्र गोली फेला परेपछि उनलाई हामीले पक्राउ गरेका हौँ,’ विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी भीमप्रसाद ढकालले भने, ‘अहिले उनलाई अनुसन्धानका लागि गौशाला पठाएका छौँ ।’ गौशाला वृत्तले जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको छ ।
प्रहरीले सोधपुछ गर्दा सोबिताले केटाकेटीले भेटेर खेलाइरहेको अवस्थामा फेला पारेको बताएकी छन् । उनले झोलाभित्र किन गोली लिएर गइन् भन्ने विषयको अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत्त गौशालाले भुलवश यस्तो भएको प्रारम्भिक बयान दिएका बताएको हो । ‘बुटी बनाउन काम लाग्छ भनेर पर्समा राखेकी रहिछन् । झिक्न बिर्सिछन्,’ उनका पति सुरजले भने ।
गोली फायरिङ भइसकेको तर नपड्किएको प्रहरी बताउँछ । प्रहरीले बरामद गरेको गोली प्रयोग भइसकेको तर नपड्किने प्रकारको भएको खुलेको छ । ‘१० वर्षे जनयुद्धका क्रममा लुकाएका, फ्यालिएका हतियारका अवशेष अहिले पनि गाउँघरमा भेटिने गरेका छन्,’ महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी सुदीप गिरीले भने, ‘त्यसैले कुनै ठाउँमा प्रयोग भएका वा नभएका गोली भेटिने सम्भावना हुन्छ ।’
थप : जापान जान विमानस्थल पुगेकी सोबिताको झोलाभित्र गोली कसरी पुग्यो ?
उनकाअनुसार त्यो गोली कसले फायर गरेको हो भनेर अहिले परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ । केही दिनमा रिपोर्ट आएपछि गोलीको आधिकारिकताको बारेमा थाहा हुनेछ । सोबिताविरुद्ध प्रहरीले खरखजनासम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाएको छ ।
सोबिताकी आमा सीतालाई छोरीले आफैँ गोली बोकिन् भन्ने विश्वास नै छैन । ‘मेरा छोराछोरीजस्ता सोझा कसका होलान् र ? तर हामी गरिबलाई जसरी पनि फसाउँछन् क्या १ गरिखानै दिँदैनन्,’ सीता भन्छिन्, ‘ हामीलाई दुस्मन लागे ।’