टाेकियाे – प्रेमको कुनै सीमा हुन्न भन्ने भनाई जापानकी पूर्वराजकुमारी माकोका लागि मेल खान सक्छ । उनी अहिले न्युयोर्कको मेट्रोपोलिटन म्युजियम अफ आर्टमा स्वयंसेवकको रुपमा काम गर्छिन् ।
३० वर्षीया माको पूर्व राजकुमारीले उपाधि त्यागेकी थिइन् र ‘सामान्य’ प्रेमी केई कोमुरोसँग विवाह गर्न अमेरिका गएकी थिइन् । प्रेमीसँग विवाहका लागि नै उनले उपाधि र राजपरिवारका सम्पूर्ण सुविधा त्यागेकी थिइन् ।
उनी म्युजियमको एसियाली कला सङ्ग्रहालयमा काम गरिरहेकी छिन् । जापान टाइम्सका अनुसार पूर्व राजकुमारीले जापानमा बुद्ध धर्मको परिचय दिने १३औं शताब्दीका भिक्षुको जीवनबाट प्रेरित भएको चित्रकलाको प्रदर्शनीका लागि प्रयास गरिरहेकी छिन् ।
माकोले स्कटल्याण्डको एडिनबर्ग विश्वविद्यालयमा कला इतिहासको अध्ययन गरेकी थिइन् । सन् २०१६ मा उनले बेलायतको लेस्टर विश्वविद्यालयबाट कला सङ्ग्रहालय र ग्यालरी विषयमा स्नातकोत्तर गरेकी थिइन् ।
‘उनी योग्य छिन् । यस कामका लागि धेरै तयारीको आवश्यकता पर्दछ र प्रायः पुस्तकालयमा धेरै समय खर्च गर्नुपर्छ’, एक पूर्वमेट क्युरेटरले राजकुमारीको कामको बारेमा भने ।