बुधबार, मंसिर २०, २०८०
Wednesday, December 6, 2023

काठमाडौँ – पश्चिमा सैन्य संगठन नेटोको बिस्तार भएमा आफू बाल्टिक क्षेत्रमा सैन्य क्षमता बढाउन बाध्य हुने रुसले चेतावनी दिएको छ । फिनल्याण्ड र स्वीडेनले नेटोमा सामेल हुने तयारी वा त्यस सम्बन्धमा सकारात्मक छलफल गरिरहेका बेला रुसको चेतावनी आएको हो ।

फिनल्याण्ड र स्वीडेन नेटोमा सामेल भएमा बाल्टिक क्षेत्रमा परमाणु हतियारको तैनाथीसहित आफ्नो सैन्य क्षमता बिस्तार गर्ने रुसले बताएको हो । रुसको सुरक्षा परिषदका शीर्ष सदस्य तथा पूर्व रुसी राष्ट्रपति डिमित्री मेडभेडेभले दुई राष्ट्र अमेरिका नेतृत्वको नेटो गठबन्धनमा सामेल भएमा बाल्टिक क्षेत्रमा आफ्ना सबै प्रकारका सैन्य क्षमता बिस्तार गरिने बताएका हुन् ।

गएको फेब्रुअरी २४ देखि रुसले युक्रेनमाथि आक्रमण गर्दै आएको छ। सो आक्रमणका कारण हालसम्म कुनै पनि सैन्य गठबन्धनमा सामेल नभएका फिनल्याण्ड र स्वीडेनमा नेटोमा आवद्ध हुने सन्दर्भमा नागरिक तहमा समर्थन मिलेको छ । दुवै देशका प्रधानमन्त्रीले चाँडै नेटोका सन्दर्भमा निर्णय लिने बताएका छन् ।

फिनल्याण्ड र स्वीडेनको तयारीले नेटो बिस्तार हुन नदिने रुसको रणनीतिमा गम्भीर धक्का लाग्ने ठानिएको छ । युक्रेन युद्धमा रुस जानुको पछाडि नेटो सदस्य राष्ट्र बन्ने सम्भावना पनि एक हो ।

रुस नेटोलाई आफ्नो सुरक्षा जोखिमका रुपमा लिने गरेको छ । तर युक्रेन युद्धका कारण आफ्नो देशको रक्षाका लागि नेटोमा सामेल हुनु पर्ने दबाब फिनल्याण्ड र स्वीडेनमाथि परेको हो । नेटो राष्ट्र नभएकाले युक्रेनलाई हाल पश्चिमा देशले सैन्य सामग्रीसहितका सहयोग गरे पनि सिधा रुपमा रक्षात्मक युद्धमा सैनिक तैनाथ भएका छैनन् ।

रुसले परमाणु हतियार पनि तैनाथ गर्ने बताए पनि यसअघि उसले ती हतियार बाल्टिक क्षेत्रमा तयारी अवस्थामा राखेको दाबी लिथुवानियाले गरेको छ । लिथुवानियाका रक्षामन्त्री अर्भीदास एनुसाउस्कासले बाल्टिक क्षेत्रको कालिनिन्गार्डमा रुसले परमाणु हतियार भण्डारण गरेको दाबी गरेको द गार्डियनले उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया