शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो – जापानमा थोक मूल्यमा अहिलेसम्मकै उच्च वृद्धि भएको देखिएको छ । आर्थिक वर्ष २०२१ मा जापानको थोक मूल्य गत वर्षको सोही अवधिको तुलनामा ७ दशमलव ३ प्रतिशतले बढेको देखिएको हो ।

कोरोना भाइरसको महामारी र रुसले युक्रेनमाथि आक्रमण गरेपछि कच्चा तेल र कमोडिटिजको भाउमा भएको वृद्धिका कारण महँगी बढेको केन्द्रीय बैंक (बीओजे)ले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । अमेरिकी डलरको तुलनामा येन कमजोर बनेपछि घरेलु बजारमा थोक महँगी बढेको बताइन्छ । यो वृद्धि सन् १९८१ मा यस्तो खालको तथ्यांक राख्न थालेयताकै उच्च हो ।

आर्थिक वर्ष २०२० मा थोक मुद्रास्फीति १ दशमलव ४ प्रतिशतले घटेको थियो । यसले विश्व बजारमा इन्धनको भाउमा आउने उतारचढावले जापानी अर्थतन्त्रमा परेको प्रभाव छर्लङ्ग बनाएको छ । येनको अवमूल्यनका कारण आयात अघिल्लो वर्षको तुलनामा ३२ दशमलव ७ प्रतिशतले बढेको छ । निर्यात मूल्यमा भने १२ दशमलव ३ प्रतिशतको मात्रै वृद्धि भएको छ ।

मार्चमा मात्रै थोक मूल्य अर्थात् कम्पनीहरुबीच वस्तु किनबेच हुँदाको मूल्य ९ दशमलव ५ प्रतिशतले बढेको थियो । यो फेब्रुअरीयताको दोस्रो उच्च वृद्धि हो । जापानमा थोक मूल्य मार्चमा लगातार १३औँ महिना बढेको बीओजेको तथ्यांकले देखाएको छ । कम्पनीहरूले पनि आफ्नो लागतमा भइरहेको वृद्धिको भार उपभोक्ताको काँधमा थोपरिरहेका छन् ।

तपाईको प्रतिक्रिया