काठमाडौं – सत्तारूढ दल नेकपा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको तस्बिर आफ्नो निर्वाचन प्रचार सामग्रीमा प्रयोग गरेको छ।
स्थानीय तह निर्वाचनलाई लक्षित गरेर माओवादी केन्द्रले तयार गरेको प्रचार सामग्रीमा घिसिङको तस्बिर राखिएको छ।
पोस्टरमा माओवादीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मा र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङको तस्बिर राखेको छ।
पोस्टर मा ‘अँध्यारोबाट उज्यालोको यात्रा’ लेखिएको छ। पोस्टर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै अध्यक्ष प्रचण्डले ‘लोडसेडिङ अन्त्य एउटा फड्को अब पालो निःशुल्क बिजुलीको’ लेखेका छन्।
दायाँतर्फको माथिपट्टि पार्टीको ‘चुनाव चिह्न’ राखेर भोटको अपिल गरिएको छ। तल बायाँपट्टि अँध्यारो बस्ती र अर्कोतर्फ बिजुली बलेको बस्तीको सांकेतिक तस्बिर पनि राखिएको छ।
यसबारेमा संक्षिप्त प्रतिक्रिया दिँदै घिसिङले आफ्नो सहमतिबिना तस्बिर राखिएको बताएका छन्। उनले आफ्नो तस्बिर नराख्नु भनेको बताएका छन्। उनले माओवादीको यस कदमप्रति विमति रहेको बताएका छन्।
निर्वाचन आचारसंहिता २०७८ मा भने सरकारी कर्मचारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन रोक लगाइएको छ।