काठमाडौं – सत्तारुढ नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर राखेर चुनावी सामग्री बनाएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको चुनावी पोष्टरमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको पनि तस्बिर राखिएको हो । अध्यक्ष प्रचण्ड र अर्थमन्त्री जनार्दन शर्मासँगै माओवादीले घिसिङको तस्बिर राखेर ‘अध्याँरोबाट उज्यालोतर्फ’ उल्लेख गर्दै चुनावी पोष्टर सार्वजनिक गरेको हो ।
‘अँध्यारोबाट उज्यालोको यात्रा’ लेखिएको उक्त पोस्टरमार्फत माओवादीले लोडसेडिङ अन्त्यलाई आफ्नो ठूलो सफलताका रूपमा चित्रण गरेको छ । साथै अब नि:शुल्क बिजुलीको अभियानलाई अगाडि बढाउनेसमेत माओवादीले जनाएको छ ।
कार्यकारी निर्देशक घिसिङले भने आफ्नो सहमतिबिना तस्बिर राखिएको प्रतिक्रिया दिएका छन् । ‘मेरो तस्बिर नराख्नु भनेको थिएँ । मेरो सहमतिविपरीत उहाँहरूले तस्बिर राख्नु भएछ । त्यसमा मेरो विमति छ,’ घिसिङले भने ।