शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं – श्रीलंकाले आफ्नो सबै ५१ बिलियन डलरको बाह्य ऋणमा डिफल्ट घोषणा गरेको छ । आर्थिक संकट झेलिरहेको श्रीलंकाले मंगलबार ५१ अर्ब डलरको वैदेशिक ऋणमा डिफल्ट घोषणा गरेको हो ।

श्रीलंकाले यस अवस्थामा अत्यावश्यक वस्तुको आयातका लागि विदेशी मुद्रा सकिएपछि यसलाई ‘अन्तिम उपाय’ भएको बताएको छ । श्रीलंकाले स्वतन्त्रता यताकै सबैभन्दा खराब आर्थिक अवस्थाको सामना गरिरहेको छ । देशमा खाद्यान्नदेखि इन्धनसम्म सबै सकिएको छ ।

श्रीलंकाको अर्थ मन्त्रालयले एक विज्ञप्ति मार्फत विदेशी सरकारहरूसहित ऋणदाताहरू मङ्गलबारदेखि मूल रकममा ब्याज थप्न वा श्रीलंकाली मुद्रामा भुक्तानी लिन स्वतन्त्र रहेको घोषणा गरेको हो । विज्ञप्तिमा भनिएको छ- ‘सरकारले देशको आर्थिक अवस्था थप खस्किन नदिन आपतकालीन उपायका रूपमा यो अन्तिम कदम चालेको छ ।’

अर्थ मन्त्रालयले अन्तराष्ट्रिय मुद्रा कोषको राहत प्याकेज कार्यान्वयन गर्नुअघि सबै ऋणदाताले भुक्तानीमा चुकेको र यसमा कुनै भेदभाव नगरिएको पनि बताएको छ । श्रीलंकाको आर्थिक संकटले देशका दुई करोड जनताको पीडा बढाएको छ, जहाँ सरकार विरोधी प्रदर्शनहरू हप्तादेखि चलिरहेको छ ।

गत वर्ष अन्तर्राष्ट्रिय रेटिङ एजेन्सीहरूले श्रीलंकाको रेटिङ यसरी घटाएको थियो कि श्रीलंकाका लागि विदेशी पुँजी बजारबाट ऋण लिन लगभग असम्भव थियो । श्रीलंकाले भारत र चीनसँग आर्थिक सहायता मागेको थियो तर बदलामा दुवै देशले आवश्यक सामाग्री ऋणमा दिने प्रस्ताव राखेका थिए ।

तपाईको प्रतिक्रिया