काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक राउण्ड गोलीसहित युवती पक्राउ परेकी छन् । मलेसिया हुँदै जापान जान लागेकी तनहुँकी २७ वर्षीया सोबिता नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार तनहुँको भानु नगरपालिका ७ की स्थायी बासिन्दा नेपालीको झोला जाँचको क्रममा मनीपर्सभित्र के एफ १३५.५६ लेखिएको गोली फेला परेको हुँदा आवश्यक अनुसन्धानका लागि कारबाहीका लागि नेपालीलाई महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको छ ।
नेपाल एयरलाइन्सको उडानबाट ती युवती मलेसिया जाने तयारीमा रहेको प्रहरीले जनाएको छ । प्रहरीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘तनहुँ साविक बसन्तपुर गा.वि.स.वडा नं. ६ हाल परिवर्तित भानु न.पा.वडा ७ स्थायी वतन भएकी वर्ष २७ की सोबिता नेपालीले लिई आएको घ्यू रंगको लेडिज हाते ब्यागलाई यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ X-ray ‘A’ मा चेकजाँच गर्ने क्रममा उक्त ब्यागभित्र रहेको कालो रंगको मनीपर्स भित्र KF 13 5.56 लेखिएको गोली राउण्ड- १ (एक) फेला परेको हुँदा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि महानगरीय प्रहरी वृत्त, गौशाला पठाइएको ।’
उनीमाथि महानगरीय प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरी गोली प्रतिबन्धित बस्तु भएकाले आवश्यक अनुसन्धान सुरु गरिएको बताउँछन् । प्रहरीले सोबिताबाटै प्रारम्भिक जानकारी लिइरहेको र सो जानकारीलाई पुष्टि गर्ने काम भइरहेको जनाएको छ ।
एसएसपी गिरीले भने, ‘अनुसन्धानपछि थप कुरा खुल्ला । कानुनअनुसार प्रहरी अगाडि बढ्ने हो । उनको ब्यागमा गोली कसरी पुग्यो भन्ने कुरा अनुसन्धानपछि खुल्ला ।’ प्रहरी स्रोतले दिएको जानकारीअनुसार उनले आफ्नो झोलाभित्र कसैले गोली राखिदिएको हुन सक्ने आशंका पनि व्यक्त गरेकी छन् ।