मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

काठमाडाैँ – श्रीमानसँगको बिग्रँदो सम्बन्धका कारण धादिङकी मञ्जली (परिवर्तित नाम) बालखा छोरीलाई जेठाजुको साथमा छाडेर खाडी उडिन् । २०७२ मा जब विदेशबाट फर्किइन्, केही दिनभित्रै भूकम्पको सामना गर्नुपर्‍यो । गाउँको सानो घर भत्किएपछि बस्ने अवस्था भएन ।

छोरी च्यापेर काम खोज्दै राजधानी गइन् । केही दिनको बसाइपछि काठमाडौंमै भेटिए, दोलखाका पूर्णबहादुर जिरेल । एक्लो ज्यान र छोरीको भविष्य सम्झिएर उनले जिरेलसँग दोस्रो बिहे गर्ने निधो गरिन् । लगत्तै तीनै जना कामको खोजीमा भारतको कोलकाता पुगे ।

करिब दुई वर्ष तीनै जना सँगै बसे । नाबालिग छोरी एन्जल (परिवर्तिन नाम) लाई चटक्कै छाडेर आमा अचानक बेपत्ता भइन् । आमा हराएपछि उनी सौतेनी बाबुको आडभरोसामा थिइन् । तर, बिस्तारै उनले बाबुबाट माया र संरक्षण होइन, दिनदिनै हिंसा भोग्न थालिन् । मानसिकसँगै पटक–पटक शारीरिक र यौनजन्य हिंसाको सिकार भइन् । कोलकाताका मोनोरञ्जन रोय चौधरीको भाडा घरमा बन्धक बनाएर उनले सन् २०१८ देखि यौन दुर्व्यवहार गर्दै आएका थिए । घटना थाहा पाएपछि १२ वर्षीया बालिकालाई छुटाउन घरभेटी लागिपरे । उनकै सहयोगमा आफूमाथि भइरहेको ज्यादतीको बालिकाले भिडियो पनि बनाइन् । ‘गुड्डु अंकलको सहयोगपछि घरबाट उम्किएँ,’ उनले भनिन् ।

सिंगो सहर लकडाउनको चपेटामा थियो, त्यहीबेला स्थानीय बेनियापुकुर प्रहरी कार्यालय पुगेर उनले गुहार माग्ने साहस जुटाइन् । बाबुले गरेको यौनजन्य दुर्व्यवहार र यातनाको भिडियो मोबाइलमा थियो । उनले प्रहरी कार्यालयमा प्रमाणसहित उजुरी दिइन् । सोही आधारमा प्रहरीले त्यही दिन ३९ वर्षीय जिरेललाई पक्राउ गर्‍यो । उनीमाथि यौनजन्य हिंसाबाट बालबालिकालाई संरक्षण गर्न बनेको ऐन २०१२ (पोक्सो) अन्तर्गत मुद्दा दर्ता भयो । अनुसन्धानमा खटिएकी प्रहरी अधिकृत अमिना विश्वास भन्छिन्, ‘करिब तीन महिना लामो गहिरो अनुसन्धानपछि अदालतले बालिकाको पक्षमा फैसला सुनाएको छ ।’

बालिकाले गत वर्ष सेप्टेम्बरमा कोलकातास्थित शियालदह जिल्ला अदालतमा बयान दिएकी थिइन् । प्रहरीले साताभित्र अभियोगपत्र दायर गरी अदालतमा पेस गरेको थियो । प्रहरीले पीडितको अनिवार्य मेडिकल जाँच गरी न्यायिक मजिस्ट्रेटसमक्ष बयान रेकर्ड गर्न अदालतमा अपिल गरेको थियो । अदालतले मुद्दा दर्ता भएको करिब चार महिनापछि नोभेम्बर २६ मा सौतेनी बुबालाई ४० वर्ष कैद र २० हजार जरिवानाको सजाय सुनाएको थियो । बालिकालाई क्षतिपूर्तिबापत भारु ३ लाख उपलव्ध गराउन पनि पश्चिम बंगाल राज्य सरकारलाई निर्देशन दिएको थियो । ‘ती बालिका साँच्चै साहसी थिइन्, जुन साहसले आज बलात्कारी सौतेनी बाबु ४० वर्ष लामो जेल गए,’ एक प्रहरी अधिकृतले भने ।

करिब एक वर्ष कोलकातामा आश्रित बालिकालाई त्यहाँको नेपाली महावाणिज्य दूतावासको पहलमा साताअघि नेपाल ल्याइएको छ । हाल उनी विश्व सेवा विस्तार संस्थाको संरक्षणमा छिन् । ‘यहीँ बसेर पढ्ने र भविष्य बनाउने विचार छ,’ एन्जलले भनिन्, ‘भविष्यमा असल मान्छे बनेर सेवा गर्ने लक्ष्य छ ।’ तर, आमा बेपत्ता भएको कुराले उनलाई पिरोल्छ । ‘आमा कहाँ गइन्, थाहा भएन,’ उनी भन्छिन् । उक्त संस्थाले नेपाल एवं भारततिर खोजबिन गर्दा पनि उनकी आमा भेटिएकी छैनन् ।

महावाणिज्यदूत ईश्वरराज पौडेलका अनुसार गत जनवरी २७ मा पश्चिम बंगाल बालअधिकार तथा ओसारपसार निर्देशनालयले राज्य सरकारका विशेष सचिव अरुणिमा देलाई नेपाली बालिकाको राष्ट्रियता पुष्टिका लागि पत्राचार गरेको थियो । बालिकाको नाममा बैंक खाता नहुँदा क्षतिपूर्ति रकम पठाउन ढिलो भएको भन्दै खाता खोल्ने प्रक्रियाका लागि दूतावाससँग पनि समन्वय भएको पौडेलले जनाए । ‘बालिकाको नाममा नेपालको बैंकमा खाता खोलेर रकम जम्मा गर्ने काममा हामी लागेका छौं,’ महावाणिज्यदूत पौडेलले भने । -कान्तिपुर दैनिकबाट

तपाईको प्रतिक्रिया