शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडाैँ । सर्लाहीकाे मलंगवा-१२ गम्हरियाकी ३० वर्षीया महासुन्दर ठाकुर अर्धबेहोस छिन् । होस खुल्नासाथ छोराको नाम लिएर बर्बराउँछिन् । आफन्त र छिमेकी महिलाले उनलाई सम्हाल्दै सान्त्वना दिइरहेका छन् । तर पनि उनको आँखाबाट आँसु रसाउन छाडेको छैन । उनका श्रीमान् दीपेन्द्रसहित परिवारकै अवस्था उस्तै छ ।

आइतबारदेखि बेपत्ता दीपेन्द्र र महासुन्दरका ८ वर्षीय छोरा मिठु भनिने आकाशको शव छिमेकी जगदीश ठाकुरको सेप्टिक ट्यांकीमा फेला परेपछि परिवार शोकमा विक्षिप्त छ । आइतबार साँझ खाना खाएर बाहिरको दलानमा निस्किएका मिठु त्यसपछि सम्पर्कविहीन अवस्थामा थिए । परिवारले बेपत्ता भएको भन्दै प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले शंकाका आधारमा छिमेकी जगदीशलाई नियन्त्रणमा लियो । उनले बालकको हत्या गरेर शौचालयको सेप्टिक ट्यांकीमा लुकाएको बयान दिएपछि प्रहरी टोली बिहानै घटनास्थल पुग्यो । ट्यांकीको ढकन खोल्दा बालकको शव बोरामा बाँधेर राखेको अवस्थामा फेला पर्‍यो ।

छोरा बेपत्ताको जानकारी पाएपछि वैदेशिक रोजगारीमा बहराइनमा रहेका दीपेन्द्र दुई दिनअघि मात्र घर फिरेका थिए । उनका दुई छोरा र दुई छोरीमध्ये मिठु जेठा हुन् । वैदेशिक रोजगारीबाट आर्थिक, सामाजिक प्रगति गरेका दीपेन्द्रको परिवार सामान्य र सरल खालको रहेको स्थानीय शिक्षक लक्ष्मीनारायण चौधरीले बताए ।

उनका अनुसार दीपेन्द्रले पठाएको पैसाले घरघडेरीसहित आर्थिक प्रगति हासिल गरेका थिए । शिक्षक चौधरीले पैसाको लोभमा अथवा आर्थिक प्रगतिको ईर्ष्याले बालकको हत्या भएको हुन सक्ने बताए । ‘दीपेन्द्रका परिवार सामान्य र सरल स्वभावका छन्, कसैसँग रिसइबी भएको थाहा छैन,’ उनले भने । दीपेन्द्रले भने अज्ञात व्यक्तिको नामबाट मिठुका मामालाई १५ लाख फिरौतीको म्यासेज आएको जानकारी दिए । ‘मेरो परिवारले कहिल्यै कसैको कुभलो चिताएको छैन, मैले वैदेशिक रोजगारीमा गएर आर्थिक प्रगति गरें तर नातामा आफन्त पर्ने मेरो छिमेकीलाई असह्य भयो,’ गहभरि आँसु पार्दै दीपेन्द्रले भने ।

हत्यामा संलग्न भएको भन्दै जगदीश ठाकुरसहित परिवारका सात जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ । ठाकुरका परिवारले बालकलाई बन्धक बनाएर तीन दिनअघि नै घरको माथिल्लो तलाको दक्षिण कोठामा हत्या गरी बोराभित्र राखेर सेप्टिक ट्यांकीमा लुकाएको प्रहरीको भनाइ छ । प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले परिवारका सबै जना मिलेर हत्या गरेको हुन सक्ने बताउँदै घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए । -कान्तिपुर दैनिकबाट

तपाईको प्रतिक्रिया