शनिबार, जेठ ०७, २०७९
Saturday, May 21, 2022

एउटा छुकछुके मुसा जाँडको घ्याम्पोमा परेछ । भगीरथ प्रयास गर्दा पनि उ त्यहाँबाट उम्कन सकेन । यो दृश्य टाढाबाट एउटा बिरालाले देखिरहेको थियो । बिरालो न पर्‍यो, उसले घ्याम्पोको मुखमा गएर मुसालाई जिस्काउँदै टन्न जाँड धोक्न सल्लाह दियो । तर मुसा परम शत्रुसँग दोस्ती गरेरै भएपनि त्यहाँबाट उम्कन चाहन्थ्यो । उसले बिरालोलाई अनुनय विनय गर्दै भन्यो- ‘दाइ, म स्वभावैले धानचरी । तिम्रो कसम, धान उब्जाउने किसानको कसम म बरु तिम्रो आहार बन्न तयार छु तर जाँडमा डुबेर अगति परेर मर्न चाहन्न । बिन्ती छ, मलाई यहाँबाट मुक्त गराइदेऊ ।’

बसी बसी आहारा मुखैमा आउन लागेपछि बिरालो पनि लोभियो । उसले बाचा कसम गराएर आहाराको स्वीकृतिपछि उसलाई बाहिर निकालिदियो । मुसा बाहिर निस्की नसक्दै खुरुरुरु कुदेर दुलोमा पस्यो । बिरालोले बाचा सम्झाउँदा मुसाले उत्तर दियो- ‘तेरीमा फन्टुस बिराला जाँड खाका बेला के के बोलियो के के त्यसको पनि कुनै हिसाब हुन्छ ? मातेका बेला भनेका कुरा पत्याउने तिमी कस्तो मूर्ख, लौ तिमी आफ्नो बाटो लाग, म आफ्नो बाटो लागेँ बाई, बाई ।’ आखिर बिरालो आफ्नो मूर्खताप्रति पछुताउँदै हिस्स बुढी, हरिया दाँतको पात्र बन्न पुग्यो ।

पँधेरे गफबाट माथि उठ्न नसकेका ती नेताहरूको अवस्था अहिले जाँडमा चोबलिएको त्यही मुसा जस्तो भएको छ । न अध्ययन, न आचरण, न इमानदारी मान्छेभित्र हुनुपर्ने कुनै मानवीय गुणले तान्न नसकेपछि तिनीहरू तल्लो स्तरमा उत्रिएर एक अर्कालाई धारेहात लगाउन हानाथाप गरिरहेका छन् । काँग्रेस, एमाले, माओवादी केन्द्र हुँदै राष्ट्रिय प्रजातन्त्र पार्टीसम्मको हुँकार छ- आफूलाई बहुमत दिए मात्र देश र जनताको कल्याण हुन्छ रे ! त्यो घमण्डभित्र देशभक्ति नभएर जागिरको लोभ छ । शायद राजनीतिलाई जागिरमा करार गरिने मुलुक यही नै पहिलो र अन्तिम हुनुपर्छ । होइन भने राजनीतिमा सबैभन्दा ठूलो कानून इमानदारी र निष्ठा हो । जुन देशको लोकतन्त्रमा तेस्रो दलले पहिलो र दोस्रो दललाई शासन गर्छ भने त्यो लोकतन्त्र र जग्गा दलालीमा एक इञ्च फरक छैन । ‘लुटाहा पार्टीको पिलन्धरे गणेशमानले मेरो दारीका रौँ जति पनि भोट ल्याउँदैन’ भनेर व्यक्तिवादी नीच राजनीतिमा उत्रिने केआईसिंह प्रवृत्ति ६ दशकपछि झन्झन् उत्ताउलोसँग प्रकट हुँदैछ । अब निष्ठावान् र लोभ नभएको एउटा साहसी पुरुषको उदय देशमा नहुने हो भने पुरै देश जसलाई जे गर्न पनि स्वतन्त्र हुने रत्नपार्कजस्तो हुने पक्का छ । जनतालाई पार्टीका दासबाट स्निग्ध फटिकजस्तै बनाउनु पहिलो चुनौती र आवश्यकता बनेको छ । बोतलको पानी रित्याउने सुकुटी माछा हैन, प्रत्येकका हातमा माछा मार्ने जाल थमाउने राजनीति चाहिएको छ । संघीयता, जातजाति, भाषाभाषीका नारा कृष्णलीलाका बाल श्रीकृष्णले चन्द्रमा झारेर ल्याइदिने हठ गरेपछि आमा यशोदाले थालमा पानी भरेर चन्द्रमाको छाया धर्तीमा झारेर थुमथुम्याएजस्तै चटक हो ।

अब निष्ठावान् र लोभ नभएको एउटा साहसी पुरुषको उदय देशमा नहुने हो भने पुरै देश जसलाई जे गर्न पनि स्वतन्त्र हुने रत्नपार्कजस्तो हुने पक्का छ । जनतालाई पार्टीका दासबाट स्निग्ध फटिकजस्तै बनाउनु पहिलो चुनौती र आवश्यकता बनेको छ ।

व्यक्तिवादी सन्की र हठमा हरेक क्षेत्र थिलथिलो बनाउने अभियानविरुद्ध खबरदारी नगर्ने हो भने दूधको लाम्टा चुसेर हाडछाला पारिएको तर स्याहार चाकर नगरिएको गाईको अवस्था देशले झेल्नुपर्ने पक्का छ । बिरालो कुन रंगको छ भन्ने सवाल हैन, सवाल त बिरालोले मुसा मार्छ कि मार्दैन भन्ने हो । उसको परिचय नै त्यही हो । नेपालमा मास्टर्स डिग्रीभन्दा खाडीको ५० डिग्रीको तापक्रम पोसाउने भएपछि यहाँ गरिने राजनीति नेताहरूको कुटीर उद्योग सिवाय केही होइन । भारु र दारु विनाको राजनीति के राजनीति अहिलेको सच्चाई यही हो । हेर्नुस् युक्रेनमा भविष्य बनाउन गएको एउटा नेपाली युवाका लागि देश फर्कनुभन्दा अर्काको देशको बन्दुक बोक्न प्यारो लाग्न थालेको छ । उनी युक्रेनको मायाले नभई परदेशिँदा लागेको ऋणको बोझभन्दा राइफलको सिरानी प्रिय लागेको हो ।

बीपी कोइरालाको दल यतिबेला सत्तामा छ । तत्कालीन अवस्थामा पञ्चायत विरुद्ध उनले बोलेका अभिव्यक्ति अहिले उनकै पार्टीमा सक्कल बमोजिम नक्कल देखिएको छ । बीपी भन्छन्- ‘अहिले जुन वर्ग उपस्थित छ, अहिले जुन वर्ग बन्या छ- त्यसलाई देशसँग कुनै किसिमको वास्ता छैन । सूखा भए तापनि उनीहरूको सम्पत्तिमा कुनै कमी हुँदैन । पानी पर्छ पर्दैन, नहर लाग्छ लाग्दैन तिनीहरूलाई कुनै वास्ता छैन । बजार डुबेर जाओस् या उद्योगधन्दाको विकास होस या नहोस्, उनीहरूलाई कुनै फरक पर्दैन । उनीहरू त यहाँका सम्पदाहरूलाई नष्ट गरेर, प्राचीन कला कृति विदेश पठाएर, जंगल खाएर, अवैध धन्दा गरेर बसेका छन् । यही तत्त्व अहिले शासनको केन्द्रमा छ । यो राष्ट्रिय तत्त्व होइन, अराष्ट्रिय तत्त्व हो ।’

नेपालको राजनीति विवेक कम, निर्देशन ज्यादाबाट चल्ने गरेको छ । अहिले मात्र हैन, उहिल्यै देखि नै नेपालको राजनीतिमा तीर्थाटन गर्न आएको सामान्य मानिसदेखि हिमाल घुम्न आएको विदेशीले पनि खेल्ने गरेको तथ्य भेटिन्छ । जसको परिणाम गल्ती र कमजोरीको थाक यसरी लाग्दै गयो कि त्यो थाक राज्य सञ्चालनको अकाट्य नजिर बन्न पुग्यो । तीर्थाटनमा आएकी एउटी महिलासँग घरजम गर्न पदीय गरिमा र मर्यादासम्म दाउमा लाउन पछि नपर्ने रणबहादुर शाहले विरासतको रोलक्रम नै तहसनहस बनाइदिए । कमजोरीलाई सच्याउने हैन, तासको किट्टी खेलका कपटी खेलाडीजस्तो एक्का ट्रायल फोडेर अन्त्यमा एक्काजुट देखाएर अरूलाई बिगार्ने अभ्यासमा पुरै राजनीति अभ्यस्त भयो । हरेक राजनीतिक प्राणी सत्तामा हुन्जेल गोलचक्करमा फस्ने, त्यहाँबाट झरेपछि जाँडको धङधङेले नछोडेको जँड्याहाजस्तो भएर जीवन गुजार्नेहरू थुप्रै छन् । यसैको परिणाम चटकमा मुलुक सिंगापुर बनाउनेदेखि लिएर स्याटेलाईटबाट बिजुली बत्ती बाल्नेहरू समेत देखा परे । यिनीहरूलाई के थाहा ? घोडाको सुन्दर तस्बिर बनाउनु र तबेलामा घोडा पाल्नु आकाश पातालको अन्तर छ ।

यहाँको राजनीतिमा देखिने अनपेक्षित र अप्राकृतिक परिदृश्यका विषयमा बीपी अर्को ठाउँ लेख्छन्- ‘कति विद्यार्थी मरे, अपाङ्ग भए, थुनिए, यातना पाए । ती सबैले सूर्यबहादुरलाई ल्याउन गरेको म भन्दिनँ । तर त्यस्तो प्रमाणित हुन गयो । विद्यार्थी आन्दोलन चल्दछ- त्यसले गर्दा हामीलाई जनमत सङ्ग्रह प्राप्त भयो, यसो भयो, उसो भयो भनिन्छ । म त केवल समस्याको प्रकृतिलाई हेर्ने गर्दछु । म देख्छु, त्यसको सबभन्दा ठूलो प्राप्ति हो- सूर्यबहादुर थापा । त्यत्रो ठूलो आन्दोलनबाट त आन्दोलनकारी पो स्थापित हुनुपर्ने तर त्यहाँ तिनीहरू स्थापित भएनन् । स्थापित को हुन्छ भने सूर्यबहादुर थापा । आन्दोलन हुन्छ भुट्टोलाई लिएर । तपाईँलाई थाहा छ ? हाम्रा मानिस मारिँदा आन्दोलन हुँदैन । त्यसभन्दा १५ दिन अगाडि यहीँका देशभक्तहरू मारिए, झुण्ड्याइए, गोलीका सिकार भए- यज्ञबहादुर थापा, भीमनारायण श्रेष्ठ । तिनीहरूका बारेमा केही हुँदैन । आन्दोलन भुट्टोका कारणबाट थालनी हुन्छ र अन्त्य हुन्छ- सूर्यबहादुर थापाको स्थापनामा ।

मकैको खेती पुस्तकको भूमिकामा भनिएको छ- ‘सरकारले आफ्नो देशका कुकुरहरू भन्दा विदेशी कुकुरहरूको बढ्ता मान गर्छ तर चोर डाकाहरुबाट हाम्रो रक्षा गर्ने बखत गद्दामा सुत्ने विदेशी कुकुरहरू काम लाग्दैनन् । स्वदेशी कुकुरहरू नै काम लाग्छन् ।’

प्राविधिक ज्ञानका नाममा मोबाइल चलाउँदा हरियो थिचे बोल्छ, रातो थिचे काटिन्छ भन्ने फर्मुला बुझेका नेताहरूलाई कथाका रवाफी राजा अकबरलाई रेसमी लुगा लगाइदिएको भ्रममा नाङ्गो घुमाउने वीरबल क्षमता बोकेका थुप्रै वीरबलहरु अहिले गाउँमा जन्मिसके भन्ने बुझ्न जरुरी छ । त्यसैले त भनिन्छ- आशावादी मानिसले हवाईजहाज बनाउँछ, निराशावादी प्यारासुट बनाउँछ भने दुवै नगर्ने जमिनमा बसेर कुरा जोत्ने काम गर्छ । त्यसो त इतिहास साक्षी छ, हाम्रो राजनीतिक धरातल कहिल्यै मजबुत भएन । राज्य सञ्चालकहरूले आफू उभिने पाइलो बाहेक अरुतिर ध्यानै पुर्‍याएनन् । राजनीतिशास्त्रले स्थापित गरेको जनता कहिल्यै गलत हुँदैन भन्ने मान्यता नबाँचेको भए हाम्रोमा हुर्किएको राजनीतिभित्रको दलालीले घर खरानी बनाएर त्यसको टीका लगाउने बाहेक अरू सृजनशील सूत्र केही सिकाएन । फलस्वरूप सिक्ने तर नसिकाउने अपराधको अर्को कडी राजनीति बन्न पुग्यो । अझ रोबर्ट राजनीति हाम्रो आदर्श बन्यो ।

कृष्णलाल अधिकारी मकैको खेती पुस्तक लेखेको अभियोगमा मारिए । आज पनि मकैमा खुम्ले लाग्छ । विज्ञले त्यसको ओखती बताउँछन् । तर सत्ता र शक्तिबाट अन्धो मानिस कति भयभीत हुँदोरहेछ भने खुम्ले र आफूमा अन्तर देख्दोरहेनछ । कृष्णलाल मारिए पनि उनको लेखनी सत्यबाट डगमगाएको छैन । मकैको खेती पुस्तकको भूमिकामा भनिएको छ- ‘सरकारले आफ्नो देशका कुकुरहरू भन्दा विदेशी कुकुरहरूको बढ्ता मान गर्छ तर चोर डाकाहरुबाट हाम्रो रक्षा गर्ने बखत गद्दामा सुत्ने विदेशी कुकुरहरू काम लाग्दैनन् । स्वदेशी कुकुरहरू नै काम लाग्छन् ।’

नेताहरू थुन्ने पनि अरू नै, छुटाउने पनि अरू नै । कुर्सीमा आसीन गराउने पनि अरू, खँदार्ने पनि अरू नै । शायद मर्दहरू नामर्दको सुरक्षामा बसेपछि यस्तै हुन्छ । कसैप्रतिको आग्रह, पूर्वाग्रह होइन । इतिहास साक्षी छ । २००४ सालमा नागरिक स्वतन्त्रताको माग गर्दै आन्दोलन चर्किँदो थियो । नजरबन्दमा रहेका बीपी कोइरालाको स्वास्थ्य स्थिति गम्भीर बन्दै गएको थियो । भारतीय नेताहरू महात्मा गान्धी, डा. राममनोहर लोहिया, डा. राजेन्द्रप्रसाद, डा. श्यामप्रसाद मुखर्जीहरुले मानवताको नाताले रिहाइको माग गर्दै नेपाल सरकारलाई चिट्ठी लेखेका थिए । नेताका मात्र हैन, राणा शासकदेखि राजा खलकका निर्देशक पनि तिनै भारतीय थिए । छिमेकी देशको मात्र होइन, बेलायत पुगेर आएपछि महत्त्वाकाङ्क्षी बनेका जंगबहादुरले केही साँच्चै ऐतिहासिक काम गरे । गोराहरूको ढाडस पाएका जंगबहादुरले पहिले आफूलाई राणाजी बनाए । आफ्ना भाइभारदारलाई शक्तिकेन्द्रमा पुर्‍याए । भाइहरूको विवाह राजा खलक मात्र बनाएनन्, श्री ३ घोषणा गरेर राजपाटमा दख्खल दिए । यसखाले व्यक्ति केन्द्रित राजनीतिले केही समयका लागि व्यक्ति शक्तिशाली देखिएपनि राज्य झन्झन् कमजोर बन्ने रहेछ ।

तपाईको प्रतिक्रिया