बुधबार, बैशाख ०५, २०८१
Wednesday, April 17, 2024

घर बनाउन, घर छोडेका हामीलाई अब गाउँले बिर्स्यो, सहरले चिन्दैन । न घरको ढिंडो न गोठको खीर, न स्वदेशमा रम्न सकेका, न त विदेशमा जम्न सकेका हामी कहिलेसम्म यसरी विदेशमा रनभुल्ल परेर बिताउने यो हाम्रा लागि आजको अहम प्रश्न हो । हुन त, सूचना र प्रविधिको चरम बिकासले गर्दा बिश्व नै अब एउटा गाउँमा परिणत भईसकेको छ । मानिसहरु आफ्नो इच्छाअनुसार चाहेको भूगोलमा माइग्रेशन भएर बस्न थालेको धेरै भईसकेको छ । लाहुरेको लाहुर अब छिमेकी राष्ट्र भारत, पाकिस्तान, हङकङ, बेलायत, सिंगापुर मात्र रहेन । खाडि राष्ट्र, मलेसिया हुँदै बिश्वका जुनसुकै देशमा पनि नेपालीहरु पुगेका छन्, उतै मिनी नेपाल निर्माण गरिरहेका छन् । देशमा ठूलै चमत्कार नभएसम्म यो क्रम जारी रहने देखिन्छ । आफ्नो र परिवारजनको सुखद भविष्यको खोजीमा नेपालीहरुले विदेश रोज्ने सँस्कृतिलाई न्युनिकरण गर्ने हो भने देशभित्रै आकर्षक अवसर सिर्जना हुनु वाञ्छनीय छ । जनशक्ति निर्यात गरेर रेमिट्यान्सको अपेक्षा गर्ने राज्यको अघोषित नीति रहेसम्म त्यस्तो परिकल्पना गर्न सकिदैन ।

अपवाद बाहेक हरेक नेपालीको पहिलो सपना राजधानी वा अन्य कुनै ठूला सहरमा एउटा राम्रो घर होस् भन्ने हुन्छ । त्यहि सपनाले उसलाई मुलघर छोडेर लाहुर हुत्याँउछ । जन्मे-हुर्केको थातथलो छोडेर एकपछि अर्को सपना देख्न थाल्छ र त्यसैले उसलाई बर्षौसम्म अल्झाईरहन्छ । अन्ततः उसलाई विदेशकै बसाई, हावापानी, खानपान, रहनसहन सहज लाग्न थाल्छ, यो नै प्रवासिएका अधिकाँश नेपालीहरु लाहुर भासिनुको वास्तविकता हो । जति जति बसाई लम्बिदैं जान्छ उति उति उसलाई जन्मे-हुर्केको गाउँ-ठाउँ र रस्तीबस्तीले बिर्सन थाल्छन् ।

तथापि हरेक बिहान आफ्नै माटोमा ब्युँझने आकाँक्षा कसलाई पो नहोला र ? हरेक रातका सपनीमा आउने झझल्कोले स्वदेशसंगको नाता नविकरण गरिरहेका हुन्छन् नै, जति नै सात समुद्र नाघेर आए पनि हाम्रो जिब्रोले गुन्द्रुक र ढिंडोको स्वाद खोजिरहेकै हुन्छ । मुलुकभित्रै संभावना खोज्ने बिषयमा घोत्लिने हो भने एक ठाउँमा अवश्य पुगिन्थ्यो होला, तर त्यसका लागि त्यहि खालको वातावरण, त्यहि खालको जमात र त्यहि खालको ठोस योजनाहरु आवश्यक पर्छ । अब त्यतातिर ध्यान दिनुपर्ने बेला आएको छ । स-साना स्केलमा भए पनि विदेशमा बस्ने नेपालीहरुले समुहमा मिलेर आ-आफ्नो मुल थाततलो र रस्ती-बस्तीमा उत्पादनमा लगानी गर्ने अभियान चलाउने हो भने एउटा ठूलो उभार आउन सक्छ । स्वदेश फर्केर के गर्ने भन्ने बिषयले धेरैको मनमा घर गरेको पाईन्छ, एकल प्रयास तथा आफैमा आइडिया नहुनु र अरुको भर पर्न नसक्नुका कारण पनि प्रवासी नेपालीहरुकाबीच सामुहिक लगानीको अवधारणाले अपेक्षित गति लिन नसकेको देखिन्छ ।

विदेशमा कहिलेसम्म बस्ने र के का लागि बस्ने भन्ने प्रायजसो हामी नेपालीहरुमा कुनै सीमा रेखा स्पष्ट नहुँदा अबका पुस्ताका लागि शिक्षादिक्षा र उनीहरुको भविष्य समेत अन्यौलतातिर धकेलिन पुगेको छ । हुर्कदों उमेरका बच्चाहरुलाई कहाँ पढाउने, के पढाउनेमै हामीमा समस्या छ, अन्यौलता छ, यसबारे परामर्श गर्ने गतिलो ठाउँ छैन । कलिला नानी बाबुहरुको भविष्यसंग जोडिएको यस्तो संवेदनशील बिषयमा न त उनीहरुका अभिभावक नै गम्भीर देखिन्छन् । बच्चाहरुको कलिला मनोविज्ञानसंग खेलबाड गर्दै अभिभावकहरुले आफ्नो अनुकुलता हेरि कहिले नेपाल, कहिले जापान, कहिले नेपाली स्कुलमा, कहिले जापानी स्कुलमा सारिरहेका हुन्छन् । हाम्रो पुस्ताले खानुपरेको विदेशको हण्डर अबको पुस्ताले खान नपरोस् भन्ने चाहना राख्ने हो भने आजैदेखि उनीहरुलाई त्यहि अनुसारको शिक्षा-दिक्षा र सँस्कार दिनुपर्दछ । रोजाई विदेशकै हो भने पनि उनीहरुको लागि कम्फोर्ट हुने मुलुक हेर्नुपर्दछ । यी र यस्ता बिषयमा अभिभावकीय चेतना नहुँदा धेरै किशोर किशोरीहरु नेपालको पढाई बीचमै छोडेर तत्कालको लागि कमाई मात्रै हेरेर भबिष्यसंग खेलबाड गरिरहेको पाईन्छ । करियर बनाउने कलिलो उमेरमा कमाईलाई प्राथमिक दिएर कामको माया गरिनु सर्बथा गलत छ । सिंगो जिन्दगी लगाएर एउटा घर बनाउन हामीलाई मुलघर छोड्नु परेता पनि उनीहरुलाई नपरोस् भन्नेतिरै अब हाम्रो ध्यान केन्द्रित हुनु जरुरी छ ।***

तपाईको प्रतिक्रिया