शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024
काठमाडौँयुक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले लगाएको रासायनिक तथा जैविक हतियार निर्माण गरिरहेको भन्ने आरोपको खण्डन गरेका छन्।

भिडियो सन्देशमार्फत जेलेन्स्कीले बिहीबार उक्त आरोप खण्डन गरेका हुन्। अमेरिकाको सहयोगमा युक्रेनले रासायनिक तथा जैविक हतियार बनाइरहेको रुसले आरोप लगाएको थियो।

‘यसले मलाई चिन्तित बनाएको छ। किनकी निरन्तरको घटनाबाट हामी विश्वस्त भएका छौं कि रुसको योजना बुझ्न उसले अरुलाई के आरोप लगाउँछ भन्ने हेर्नु जरुरी छ’, जेलेन्स्कीले भने, ‘रासायनिक आक्रमणको तयारीको आरोप के हो?’

रुसलाई निशाना साँध्दै उनले भने, ‘अब हामीमाथि कुन रासायनिक हतियारको प्रयोग गर्ने तयारी भइरहेको छ?’

‘मेरो भूमिमा कुनै पनि रासायनिक वा ठूला क्षति पुर्‍याउने हतियार निर्माण भएको छैन’, जेलेन्स्कीले थपे।

बिहीबार युक्रेनका ४० हजार मानिसको उद्धार गरिएको उनले बताए। पछिल्लो दुई दिनमा १ लाखसम्म मानिसहरुको उद्धार भएको जेलेन्स्कीको भनाइ छ।

यद्यपि मारिउपोल र त्यसको नजिकै रहेको भोल्नोभाख सहरको बाटो भने पूर्णरुपमा बन्द रहेको जेलेन्स्कीले बताएका छन्।

तपाईको प्रतिक्रिया