शनिबार, जेठ ०७, २०७९
Saturday, May 21, 2022

छोरा: बुबा, आजदेखि मैले चुरोट खान छोडेँ
बुबा: स्याबास छोरा राम्रो गरिछस् ।
छोरा: मैले रक्सी पनि खान छोडेँ ।
बुबा: ओहो, अति राम्रो बाबु !
छोरा: मैले झगडा गर्न पनि छोडिसकेँ नि बुबा ।
बुबा: धन्य छोरा अब के गर्ने विचार छ त ?
छोरा: बुबा अब म मेरो झूट बोल्ने बानी पनि छोडौँ कि भन्ने विचार गरेको छु ।

यदि अहिलेको बानी सानामा पनि सक्कल बमोजिम नक्कल थियो भने पिता मुक्तिराम र बालक छविलालबीच यस्ता संवाद दर्जनौँपल्ट भएको अनुमान गर्न सकिन्छ । एक्काइसौँ शताब्दीको सभ्य समाज अनि नेपालका लगभग तीन करोड जनताका भाग्य निर्माता बनेका तिनै छविलाल शक्तिशाली प्रचण्ड भइसक्दा पनि उनको बोली पानीमा उतारेको चित्रजस्तै छ । प्रचण्ड चर्चाका केन्द्र किन बनेका हुन भने समयक्रमले आस र त्रासको राजनीतिक गोलचक्करका प्रखर खेलाडी उनैलाई बनाएको छ । मानिसले एक शब्द बोल्नुपर्‍याे भने उसका ७२ वटा अंग सक्रिय हुनुपर्छ । हो, अब त्यो बोली कति सार्थक र कति निरर्थक बनाउने ऊभित्रको इमान्दारिको प्रश्न हो । जतिबेला पृथ्वी चेप्टो भन्ने मान्यता थियो, ग्यालिलियोले घोषणा गरिदिए- हैन पृथ्वी गोलो छ । उनलाई पृथ्वी चेप्टो भनेर स्विकार्न बारम्बार आग्रह गरियो तर उनी आफ्नो भनाइमा टसमस भएनन् । अन्त्यमा रोज्नुपर्ने यस्तो घडी आयो कि मृत्यु कि चेप्टो पृथ्वी । उनी मृत्यु स्विकार्न तयार भए, पृथ्वीलाई चेप्टो भनेनन् । ग्यालिलियोको भौतिक शरीर संसारमा नभएको धेरै भयो । आखिर पृथ्वी गोलो प्रमाणित भयो । त्यही अडानको परिणाम ग्यालिलियो कहिल्यै नअस्ताउने ग्रह भएर बाँचिरहे ।

अब रेडियोभित्र साना मान्छे हुन्छन् र झिँगाले घडीको काँटा चलाउँछ भनेर मान्छे अलमल्याउने दिन गए । बेलुका सुतेको मानिस बिहान संसारभर फैलिएको प्रविधि र गतिसँग मिल्न सकेन भने ऊ सतहबाट मासिएको विक्रम टेम्पो हुनपुग्छ । जेलनेल खाएको, प्रवास बसेको, अर्काको काँक्रा चोर्दा काँडाले दरफर्‍याएको खतलाई तानासाहीको निशानी भन्दै झूटको खेतीमा अब कसैले छाती नफुलाए हुन्छ । बहादुरी गर्ने जो कसैले जहाँ पनि झण्डा गाड्न सक्छ । भारतीय सेनामा ट्रक ड्राइभरको पृष्ठभूमि भएका अन्ना हजारे एकताका सुशासन चाहने सम्पूर्ण भारतीयका आशा केन्द्र बने । एउटा रोगी रामदेव आफूभित्रको इच्छाशक्ति बालेर आफू मात्र चुस्त भएनन्, दीर्घ जीवन बाँड्ने सर्वस्वीकार्य दूत भएका छन् । विश्वका करोडौँ मानिस बिहान अलोलम विलम र कपाल भाँतीको अभ्यासमा बित्छ । दुई बिस ननाघेका जुकरबर्कले फेसबुक मार्फत संसारमा यस्तो क्रेज ल्याए, उनको आविष्कार हरेक तह र तप्काका लागि अक्सिजन साबित भएको छ । विश्व हावा यता बगिरहेका बेला हामी चाहिँ सिल्क रोडमा हवाईजहाज बसाउने उल्टो दिशामा किन लागिरहेका छौँ । रत्नपार्कमा बेच्न राखिएको ५० रुपियाँको घडीलाई त पानीमा डुबाएर विश्वसनीय भएको प्रमाणित गर्नुपर्छ भने देशका भाग्य विधाता भनिएका नेताहरू किन त्यो घडीभन्दा सस्तो बन्दैछन् ? उत्तर नभेटिएको तर सबैलाई लागेको उदेकलाग्दो प्रश्न यही हो ।

कम्युनिष्ट हिँडेको बाटो घृणा गर्ने आफ्नो चिरपरिचित रोडम्यापलाई जीवनको उत्तरार्द्धमा सच्याउँदा गिरिजाप्रसाद कोइरालाले अभूतपूर्व मलामी पाए । बचनमा अड्ने चरित्रका कारण पछिल्लो समय उनी नेपाली राजनीतिको डिलर नै बने । उनीसँग थोकमा सामान ल्याएर राजनीतिको व्यापार चलाउने थुप्रै देखिए । काँग्रेस पार्टीको सभापति भएर अरू पार्टीमा पसल खोल्ने उनको चतुर्‍याइँले उनी आफू त स्थापित भए तर सुनजस्तो पार्टी यसरी गिजोलियो कि काँग्रेसको सक्कली परिचय शब्दकोशबाटै हरायो । बीपीको फोटोलाई ‘कुन बुढाको फोटो ?’ भनेर सोध्ने डनहरू महासमिति र महाधिवेशन प्रतिनिधि बने । काँग्रेसको सक्कली बाटो यो है भनेर खबरदारी गर्ने कृष्णप्रसाद भट्टराई, शैलजा आचार्यजस्ता निष्ठाका धरोहरहरूले ‘अछुत’ भएर मृत्युवरण गर्नुपर्‍याे । भीमबहादुर तामाङ, रामहरि जोशी, चक्र बास्तोलाहरू काँग्रेसको सक्कली नाताबाट बाहिरिएर भगवानका प्यारा भए ।

रत्नपार्कमा बेच्न राखिएको ५० रुपियाँको घडीलाई त पानीमा डुबाएर विश्वसनीय भएको प्रमाणित गर्नुपर्छ भने देशका भाग्य विधाता भनिएका नेताहरू किन त्यो घडीभन्दा सस्तो बन्दैछन् ? उत्तर नभेटिएको तर सबैलाई लागेको उदेकलाग्दो प्रश्न यही हो ।

राजा मिल्काएर गणतन्त्र आएपछि सवैथोक हुन्छ भन्ने बुझेको माओवादीभित्र काँग्रेस, एमाले र पञ्चायतमा निख्रिएकाहरूको हालीमुहाली बढ्यो । कुनैबेला माओवादी थिएँ भन्ने स्मरण समेतलाई नमिठो सपना मान्ने मनोविज्ञानमा डा. बाबुराम भट्टराई पुग्नु भनेको त्यो पार्टीभित्र विचारको क्षयीकरण नै हो । चोरलाई पनि चोर्नु हुँदैन भन्ने थाहा छ । तर चोर्छ । मनकामना देवीको महिमा शिरोपर गरेर आफ्नो जीवन शुरु गरेका तिनै बाबुराम जन्म दिने आमालाई डोर्‍याएर मन्दिर लैजाँदा पनि आफू खुल्न सकेनन् । बरु भनिदिए- विज्ञान प्रविधिको चमत्कार हेर्न आएको । मनमा लाग्ने एउटा, गर्ने अर्को अनि भन्ने झन् उल्टो । हो यसैलाई भन्छन्- पाखण्ड । राज्य सञ्चालन गर्ने नेताहरूले आफ्नो राज्यको संस्कार, संस्कृति, जनताको जीवनशैली नबुझी विवेकलाई सिद्धान्तमा घोलेर ख्वाउन खोजे भने त्यो आत्मघाती हुने निश्चित छ । एउटा पिपलको बोट त मानिसको सामीप्य पाएन भने फैलिन सक्दैन भने मानिसलाई मानिसबाट अलग गराएर गरिने राजनीति कस्तो होला ? माओशास्त्र कण्ठाग्र गरेका कति माओवादीले आफ्ना सन्तानलाई संघर्षको गाथा बढाए ? कमरेड माओले त छोरो मात्र पठाएनन्, उनको छोरो रणमैदानमै शहीद पनि भयो ।

उत्ताउलो राजनीतिको परिणाम कस्तो हुन्छ ? त्यसको सटिक उदाहरण हुन् डा. केआई सिंह । २०१५ सालमा आफ्नो पार्टीको पक्षमा भाषण गर्दै केआइसिंहले भनेका थिए- ‘हेर्नोस् यो मेरो बुढो जुँगाका प्रत्येक रौँ मा १२ वटा बाघको तागत छन् । त्यो कोपारा चोर पार्टी (कांग्रेस) को त्यो गणेशमान भन्ने पिलन्धरेलाई भोट किन दिने ? यो देश बिगार्न ।’ परिणाम ठिक उल्टो आयो । गणेशमान सबैभन्दा बढी भोट ल्याएर जिते । हरुवामा पनि पुष्पलाल श्रेष्ठ, प्रेमबहादुर शाक्य पछि मात्र केआई सिंह आउन सफल भए ।

जिन्दगी दुई दिनको हुन्छ । एकदिन तपाईँको हितमा हुन्छ, एकदिन विरुद्धमा । जुन दिन हितमा हुन्छ, त्यो दिन घमण्ड गर्नुहुँदैन । र जुन दिन विरुद्ध हुन्छ, त्यो दिन संयम गुमाउनु हुँदैन । गाली सुन्न नचाहनु व्यक्तित्व पतनको पूर्वाभ्यास हो । धेरै पर जानै पर्दैन । पञ्चायती शासनका निर्विवाद बादशाह शरदचन्द्र शाहले विदेशी भूमिमा प्राण त्याग्नुपर्‍याे । उत्तरार्द्धमा त उनमा गतिलो उपचार गर्ने क्षमता नै भएन । उनको मृत शरीरले आर्यघाटको ब्रम्हनाल छुने मौका पाएन । शेरे धनुषा भनेर ख्याति कमाएका हेमबहादुर मल्ल बितेको धेरैले पत्तै पाएनन् । कहिले समयले त्यही व्यक्तिलाई बाघ बनाउँछ भने कहिले उसैलाई मूसो । आफू कुन धरातलमा अडिने भन्ने चाहिँ कर्म गर्नेहरूको हातमा भर पर्छ ।

भगवान् कृष्णले भनेका छन्- सुरक्षाको घेरा तोड किनकि सुरक्षाको घेराभित्र चोर, डाका संरक्षित हुन्छन् । आफूभित्रको स्वधर्म कहिल्यै मर्न दिनु हुँदैन । सुन्दा पनि रमाइलो लाग्छ- मि. नटबरलाल सिनेमा बनाउँदा नटबरलालले निर्मातासँग ५ लाख कमिसन असुलेका थिए । चन्दन तस्कर वीरप्पन मारिनुअघि भारतमा चन्दन तेलको मूल्य ३५ हजारबाट बढेर एक लाख पुगेको थियो । त्यसैले कर्म- कुकर्म, अँध्यारो, उज्यालो, विवेक-व्यभिचार यिनीहरूको दूरी टाढाको छैन । फिलिपिन्सका तानासाह फर्डिनान्ड मार्कोसकी श्रीमती ईमिल्डासँग २५ हजार जोर जुत्ता थिए । उनी एकपल्ट लगाएको जुत्ता अर्कोपल्ट लगाउँदैन थिइन् । उनी कसरी नासिइन सबैलाई थाहै छ ।

एउटा पिपलको बोट त मानिसको सामीप्य पाएन भने फैलिन सक्दैन भने मानिसलाई मानिसबाट अलग गराएर गरिने राजनीति कस्तो होला ? माओशास्त्र कण्ठाग्र गरेका कति माओवादीले आफ्ना सन्तानलाई संघर्षको गाथा बढाए ? कमरेड माओले त छोरो मात्र पठाएनन्, उनको छोरो रणमैदानमै शहीद पनि भयो ।

रातदिन रूपान्तरणका खैँजडी बजाउने अनि त्यो घडी आएपछि कुतर्क गरेर पन्छिने हाम्रा नेताहरूको दिनचर्या भएको छ । पहिले पुरानो समयमा हारभंग राजा र भारभंग मन्त्री राज्य गर्थे रे । भनिन्छ- उनीहरू आफू पनि राम्रो काम नगर्ने र राम्रो काम हुन लाग्यो भने भत्काउने गर्थे । हो अहिलेको अभ्यास त्यो भन्दा पर छैन । मलेसियामा सार्वजनिक शौचालय अत्यन्तै दूषित भएपछि त्यस विरुद्ध अभियान सञ्चालन गर्न सरकारले क्याम्पसमा शौचालय व्यवस्थापन कोर्स समावेश गरेको थियो । सिंगापुर र बेलायतमा यसप्रकारको पाठ्यक्रम शुरु गरिएपछि सुधार आएको थियो । नियम कानून त छँदैछ । थाइल्याण्डमा सडक दुर्घटना कम गराउन चालकलाई अमिलो पिरो मिसाइएको चकलेट केही वर्ष यता प्रयोगमा ल्याइएको छ । काम गर्नु भनेको पहाड सम्याउनु होइन । साँचो अर्थमा काम भनेको सहयात्रा हो । टोले नेता, झोले नेताको उत्पादनले त एउटै नारा मात्र फस्टाउँछ । त्यो हो- जसले खायो उधारो, उसले जीवन सुधार्‍याे ।

सुन्दर भएर भएर के गर्नु, देश दुर्गतिमा फस्यो भने के हुन्छ ? त्यसको प्रत्यक्ष उदाहरण हो- रुस । त्यहाँका मुसलमान कुरान विपरीत रक्सी खुब खान्छन् । उनीहरूको तर्क छ, कुरानमा रक्सी खान वर्जित छ तर भोडका हैन । कस्तो अचम्म त्यहाँ दैनिक २० हजारका दरले जनसङ्ख्या घट्दो छ । यसको प्रमुख कारण मदिरापान, महँगी, पारिवारिक विखण्डन र सामाजिक असुरक्षा । साहित्यकार आन्तोन चेखव भन्छन्- साइबेरिया बनको आदि र अन्त्य चरालाई बाहेक अरूलाई थाहा छैन । जंगलीभूमि भारतभन्दा ठूलो छ । तर त्यहीँका २० प्रतिशत जनताको आय दैनिक एक कप कफी किनेर खान सक्ने छैन ।

हाम्रो देश उत्पादित होइन, जबरजस्त बनाइएको समस्याबाट ग्रसित बन्यो । नेपाली नागरिकताका आडमा सडक, सरकार, सदनसम्म एजेन्टहरूको फैलावट भयो । यसो हुँदा कर्कलो आकारको देशमा बन्चरो चलाउनेहरू धेरै भए । जनतालाई क्रान्तिको होमवर्क दिँदै आफू लुटान गर्नेहरू ‘स्वच्छ छवि’ को भाषण दिन थाले । तपाईँ नै भन्नुस् न मूसाको अधिकारको दस्ताबेज बिरालालाई लेख्न लगाइयो भने मूसो कति सुरक्षित होला ?

तपाईको प्रतिक्रिया