शनिबार, जेठ ०७, २०७९
Saturday, May 21, 2022

कुनै पनि मुलुक होस् या समाज सपार्ने होस् या बिगार्ने ठूलाबडाहरु नै हुन् । चर्को गर्मीमा सडकमा मकै पोलेर जिबिकोपार्जन गर्ने, गिटी कुटेर छाक टार्ने, भारी बोकेर लालाबाला पाल्नेहरुले केही बिगार्दैनन्, बिगार्ने त महलमा बस्ने र आवरणमा सुकिला देखिनेहरु नै हुन्, झुपडीमा बस्नेले होइन । जसरी घरको मुल खाँबाहरु मक्किए भने घर कमजोर हुन्छ र कुनै पनि बेला भताभुंग र भद्रगोल हुन्छ । छानो अगतिलो भैदियो भने मुसलधारे पानी पर्दा धुरीबाटै हो धेरै पानी चुहिने । त्यसैले उसको उचाई अनुसार जिम्मेवारी हुने हो । हामीकहाँ त्यसो नभईदिंदा सर्बत्र लथालिंगको चाला देख्न परिरहेको यथार्थ कसैबाट छिपेको छैन ।

नेपाली राजनीतिलाई हेर्ने हो भने जस्तोसुकै कचिंगल भए पनि ५, ७ थान ठूला टाउकाहरु मिल्ने हो भने ’छु मन्तर’ को शैलीमा रातारात समाधान हुन्छ । देश अहिले संकटमा छ, हुनु न खानुको बैदेशिक सहायताको बिषयले नेपाली समाज चिराचिरामा विभक्त छ । समस्या, दान दिनेले पनि सर्त र दान लिनेले पनि सर्त तेर्स्याउँदाको परिणति र यसको डढेलोले नेपाल निकै असजिलो अवस्थामा पुगेको छ । यो असजिलो घटनाक्रमबाट नेपालका नेताहरुले चेतेनन् भने उपयुक्त समयमा नेपाली जनताले उनीहरुलाई राम्रैसंग चेत खुलाउने छन् ।

सन्दर्भ जोडौं, हामी बसेको सुन्दर देश जापानको, यहाँको अणुकरणीय आदर्श समाजमा दशकौंदेखि बसेका, खाईखेलेका र अनुभव बटुलेका आशालाग्दा अग्रपंत्तिका जिम्मेवार अगुवाहरुले बेलैमा उचित कदम चाल्न नसक्दाको परिणाम आज जापानको नेपाली समाजले भोग्नु परिरहेको छ । माथिल्लो ओहदामा रहेका जिम्मेवार ब्यक्तिहरु संस्थागत हितलाई केन्द्रमा राखेर जिम्मेवार नहुँदा र अति आत्मकेन्द्रित सोंचबाट ग्रसित भईदिंदा नियन्त्रणभन्दा बाहिरको आजको अवस्था टुलुटुलु हेरेर बस्नुपरेको छ । बिहानदेखि मध्यरातसम्म सामाजिक सञ्जाल हेरिसक्नु छैन । यत्रतत्र सर्बत्र एकले अर्कोलाई खुईल्याउने र नङ्ग्याउने उद्देश्यले प्रेरित गालीगलौज तथा नकारात्मक टिकाटिप्पणीहरु मात्र देख्न पाईन्छ । दृश्यहरु हेर्दा, मानौ विश्वमै सबैभन्दा विज्ञ नेपाली जापानमै छन् उनीहरुले नजानेको र थाहा नभएको कुनै बिषय नै छैन, र बिश्वमै सबैभन्दा मिलेर बस्न नसक्ने क्षुद्र नेपाली पनि जापानमै छन् जस्तो प्रतित हुन्छ । यसकारण जापानको नेपाली समुदाय अहिले बिश्वभर चर्चामा छ ।

यसको मुल जड के हो र मुलभुतरुपमा दोषी अनुहारहरु कुन कुन हुन् भन्ने अब धेरैको दिमाखमा सेट भईसकेको हुनुपर्छ । परिवारमा केटाकेटीहरु झगडा गरे भने मिलाउने काम अर्थात झगडा हुन नदिने काम बाबुआमाको हो । झगडा गर्नका लागि आधारभूमी बनाईदिएपछि आफ्नो धर्म निर्बाह गरेका बिचरा अबोध केटाकेटीहरुलाई दोष दिन मिल्दैन । पूरापूर दोष त जो अग्लो धुरीमा बस्न खोज्ने तर सो अनुरुपको काम गर्न नसक्ने महाशयहरुको हो । दुखका साथ भन्नुपर्छ घरभित्रको रडाको थाँती राखेर माथि-माथि ताक्नेहरु वास्तवमै जापानको नेपाली समाज भाँड्नमा सबैभन्दा बढि जिम्मेवार छन् र हुनुपर्छ । लाजै नमानी विगत आधा बर्षदेखि भोट मागेको माग्यै छन् बिचराहरु, हुने या नहुने ठेगान नभएको चुनावको उम्मेदवार बन्दै भोट माग्नु भनेको खोला नभएको ठाउँमा पुल हाल्न खोज्नु जस्तै हो ।

अब प्रश्न आउँछ निकास के त ? जतिसुकै छोइछितो गरे पनि एउटै समाजमा बसेपछि मिलेर जानुको विकल्प छैन । जहाँ समस्या हुन्छ त्यहाँ समाधान पनि अवश्य हुन्छ । सरोकारवला सम्बन्धित पक्षहरुबीच सहमतिका लागि वार्ता र वार्ताका लागि टेबुलमा बस्ने वातावरण निर्माण गरौं, वाक्क-दिक्क लाग्ने गरी एउटै लेटरप्याडबाट एकपछि अर्को गर्दै विज्ञप्तीमार्फत दोहोरी खेलेर जापानको नेपाली समुदायलाई यो भन्दा बढि दिग्भ्रमित पार्ने र पदमुर्ख बनाउने अर्थहिन खेतीपाती बन्द गरौं । आफु मात्रै ठीक भन्ने भ्रमबाट सबै मुक्त होऔं । आफ्नो परिवार, काम, ब्यवसाय र जिम्मेवारीमा फोकस गरौं । अन्त्यहिन वाकयुद्ध, अर्थहिन सिंगौरी, गन्तब्य बिनाको रडाकोमा समय खर्च गर्नुको कुनै तुक छैन। आवेगले हैन विवेकले आफ्नो पोजिशन निर्धारण गर्ने हो, समाजमा अधिक खोजी हुने पात्र बन्ने काम गरौं, यसैमा सबैको भलो छ ।***

तपाईको प्रतिक्रिया